मकवानपुर, २९ चैत ।
मुक्तक मञ्च मकवानपुरले २ जना स्रष्टालाई सम्मान तथा ३ वटा मुक्तकसङ्ग्रह विमाेचन गर्ने भएकाे छ । मञ्चले २४ औँ नियमित मुक्तकवाचन श्रृङ्खलाकाे अवसरमा चैत ३० गते शनिबार एउटै मञ्चमा स्रष्टा सम्मान र मुक्तकसङ्ग्रह समेत विमोजन गरिने भएकाे छ ।
नेपाली साहित्य क्षेत्रको मुक्तक विधामा दिइएको योगदानकाे कदर गर्दै मुक्तक मञ्च मकवानपुरले २ जनालाई सम्मान गर्न लागिएकाे जनाएकाे छ । मञ्चले तारा स्मृति मुक्तक सम्मानबाट चितवनका मुक्तककार बिमला अधिकारी देवकाेटालाई सम्मान गर्ने भएकाे छ । बिमलाकाे `मनकाे किनारा´ मुक्तकसङ्ग्रह २०७५ सालमा प्रकाशित छ । मकवानपुरका साहित्यकार तथा मुक्तक मञ्चका मकवानपुरका संस्थापक उपाध्यक्ष किसन पौडेलले पिता ताराप्रसाद पौडेलको सम्झनामा उक्त सम्मान स्थापना गरेका हुन् । सम्मानको राशि स्थापनाको समयमा ५ हजार ५५५ रहेकाेमा २०८० देखि बढाएर ७ हजार ५०० बनाइएको छ । उक्त सम्मानबाट २०७९ सालमा देवराज खरेल मकवानपुर तथा २०८० सालमा हरिकृष्ण काफ्ले रौतहट सम्मानित भएका छन् ।
यसैगरी हरिकृष्ण काफ्ले मुक्तक सम्मानबाट रुपन्देहीका मुक्तककार रमेश समर्थनलाई सम्मान गरिनेछ । मकवानपुरका हास्यव्यङ्ग्यकार आरसी रिजाले मुक्तककार हरिकृष्ण काफ्लेकाे सम्मान गर्दै उक्त सम्मान स्थापना गरेका हुन् । मुक्तक विधामा प्रदान गरिने उक्त सम्मानकाे राशि १० हजार रुपैयाँ रहेको छ । समर्थनकाे `ब्रम्हलुट´ मुक्तकसङ्ग्रह २०५३ सालमा प्रकाशित छ । यो सम्मान मञ्चले पहिलोपटक प्रदान गर्न लागेकाे हाे ।
साथै सोही कार्यक्रममा ३ जना मुक्तककारका ३ वटा मुक्तकसङ्ग्रह विमोचन गरिने भएकाे छ । मकवानपुरे मुक्तककारहरु किशन पौडेल, रामबाबु पहाडी र दिनेश शर्माका मुक्तकसङ्ग्रहहरु विमाेचन हुने भएकाे हाे । पौडेलकाे `अन्तर्ध्वनी´, पहाडीकाे `गल्छेडका धुनहरु´ र शर्माकाे `बन्द ढोकाकाे चित्कार´ मुक्तकसङ्ग्रह विमाेचन हुने भएकाे आयोजकले जनाएकाे छ ।
विमोचन गरिने कृति अन्तर्ध्वनीमाथि डीबी बर्तौला, गल्छेडाका धुनमाथि शान्ति प्रीयवन्दना र बन्द काेठाकाे चित्कारमाथि दीपक गौतमले समीक्षात्मक टिप्पणी समेत हुनेछ ।




