काठमाडौं, २२ चैत ।
सहकारी ठगी र संगठित अपराधका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले थुनामा पठाउने आदेश दिएको छ । जिल्ला अदालत रूपन्देहीको एक करोड धरौटी लिएर छाड्ने आदेश बदर गर्दै उच्च अदालतले लामिछानेलाई थुनामा पठाउने आदेश दिएको हो ।
लामिछाने र पूर्वडीआईजी एवं गोरखा मिडियाका सञ्चालक छविलाल जोशीको बुटवलस्थित सुप्रिम सहकारी ठगी सम्बन्धी कसुर र संगठित अपराधसम्बन्धी मुद्दाको पेशी उपर उच्च अदालत तुलसीपुर, बुटवल इजलासले यो आदेश गरको हो । एउटै प्रकृतिको मुद्दामा गएको माघ १३ गते जिल्ला अदालत रूपन्देहीले रवि लामिछानेलाई एक करोड धरौटी रकम माग गरेको थियो भने छविलाल जोशीलाई माघ २९ गते पुर्पक्षका लागि कारागार चलान गरेको थियो । समान प्रकृतिको मुद्दामा एक जनालाई धरौटी र अर्कालाई थुना भएपछि सरकारी वकिल कार्यालय रविलाई पनि थुनामै राख्नुपर्ने माग गर्दै उच्च अदालत पुगेको थियो ।
त्यस्तै छविले पनि धरौटीमा छुट्न पाउनु पर्ने भन्दै निवेदन दर्ता गराउनुभएको थियो । सोही मुद्दामा धरौटी नभएर साधारण तारेखमै मुद्दा लड्न पाउनु पर्ने भन्दै लामिछानेले अर्को निवेदन दर्ता गराउनुभएको थियो । समान प्रकृतिका मुद्दामा छुट्टाछुट्टै निवेदन दर्ता भएपछि उच्च अदालत बुटवलले एकैसाथ हेर्ने आदेश दिएपछि हिजो र आज सगोलमै पेशी उपर बहस भएको हो ।





