मकवानपुर, १८ चैत ।
बागमती प्रदेश सरकारले २०८२ सालमा थप ४ दिन सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । सोमबारकाे प्रदेश मन्त्रिपरिषद् बैठकले थप ४ दिन बिदा दिने निर्णय गरेकाे हाे ।
विगतमा प्रदेश सरकारले दिँदै आएको सार्वजनिक बिदालाई क्यालेण्डरमा नै जनाउने गरी ४ दिनको बिदा थप गर्ने निर्णय गरिएको छ’ प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानून मन्त्री सुरज लामिछानेले भने ‘उक्त निर्णयसँगै विगतमा पर्व र दिवस विशेषमा बिदा दिन मन्त्रिपरिषद बैठक बस्नुपर्ने अवस्था रहने छैन ।’
नेपाल सरकारले निर्णय गरेका बाहेक प्रदेश सरकारले प्रदेश कामकाजी भाषा ऐन कार्यान्वयन भएको दिन वैशाख २४ गते, गाइजात्राको दिन साउन २५ गते, चेपाङ समुदायको न्वागी भदौ २२ गते र माझी समुदायको लदी पर्व फागुन १९ गतेका दिन बिदा दिने निर्णय गरेकाे उनले जानकारी दिए । सरकारले मन्त्रिपरिषदले गरेको उक्त निर्णय प्रदेश राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा आउने छ ।
यसैगरी सोमबारकाे मन्त्रिपरिषद् बैठकले बागमती प्रदेश सरकारले संघीय सरकारबिरुद्ध मुद्दा दायर गर्ने निर्णय गरेकाे छ । संविधानकाे प्रदत्त एकल अधिकारको यातायातसम्बन्धी व्यवस्थाका विषयमा संघीय सरकारविरुद्ध संविधानको धारा २३७ को उपधारा २ (क) बमोजिम संवैधानिक इजलाशमा मुद्दा दायर गर्ने निर्णय गरेको सरकारका प्रवक्ता लामिछानेले जानकारी दिए ।
प्रदेशको एकल अधिकारको सूचिका रहेको ट्याक्सी व्यवस्थापन तथा मापदण्डबारे सम्बन्धी मुद्दामा अदालतले मापदण्ड बनाउने आदेश भएकाेमा संघीय सरकारले तयारी गरेकाले सो विरुद्धमा सर्वोच्चको संवैधानिक इजलाशमा मुद्दा दायर गर्ने निर्णय गरिएकाे उनले बताए ।
यसअघी संघीय सरकारविरुद्ध प्रदेश सरकार शहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण ऐन, २०७९ को विरुद्धमा सर्वोच्च अदालत पुगेको थियो । उक्त मुद्दा सर्वोच्चको संवैधानिक इजलाशमा विचाराधीन छ ।





