मकवानपुर, १७ चैत ।
मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९, लामसुरेधापस्थित मानवसेवा आश्रमकाे मुख्य कार्यालयमा आइतबारदेखि श्रीमद्भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ सुरु भएकाे छ ।
मानवसेवा आश्रमको मुख्य कार्यालय आश्रमले अक्षयकोष निर्माण गर्ने उद्देश्यले महायज्ञ आयोजना गरेकाे हाे । आइतबार बिहान हेटौंडा – ९ स्थित त्रिवेणीधामबाट महायज्ञस्थलसम्म कलश यात्रा गरिएकाे छ । महायज्ञको उद्घाटन गर्दै बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामाले व्यक्तिगतरूपमा २५ हजार रुपैयाँ हस्तान्तरण गरे । यस्तै प्रदेश सरकारले छलफल गरेर सकेसम्म अक्षयकोषका लागि अनुदान रकम सहयोग गरिने प्रतिबद्धता मुख्यमन्त्री लामाले जानकारी दिए ।
हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले एक करोड ५० लाख रुपैयाँ अनुदान स्वरुप अक्षयकोषका लागि सहयोग गर्ने प्रतिबद्धता जनाइन् । हेटौँडा–४ स्थित हेटौँडा स्कुल अफ म्यानेजमेन्टका संचालक पुरनबहादुर जोशीले ५ लाख रुपैयाँ हस्तान्तरण गर्ने प्रतिबद्धता जनाए । यसैगरी डा.कृष्ण धितालले ५ लाख ११ हजार १११ रुपैयाँको चेक हस्तान्तरण गरे ।
आश्रमको क्षमता अभिवृद्धि एवम् आर्थिक सहयोग जुटाउने र मानवता प्रवर्द्धनमा टेवा पुयाउने उद्देश्यले सप्ताह लगाइएको बताइएको छ । जसमा किचेन कोल्डस्टोरसहितको भवन निर्माण गर्न, सहयोगापेक्षी सडक आश्रित मानवमुक्त प्रदेश निर्माण गर्न, आगामी वर्षसम्ममा सडक आश्रित मानवमुक्त राष्ट्र निर्माणको संकल्प पूरा गर्ने लक्ष्य रहेको छ ।
पहिलो दिन कुष्माण्ड सरोवर त्रिवेणी धामबाट बाजागाजा, साँस्कृतिक झाँकी, शंखनाद, भजनकिर्तनसहित विशाल शोभा कलशयात्रा गरिएको छ । दोस्रो दिनबाट २४ गतेसम्म बिहान ५ बजेदेखि ७ बजेसम्म स्वास्थ्य शिविर, युवासँग सकारात्मक सोच, मानवता प्रबर्द्धन एवम् युवासँग अन्तरिक्रया कार्यक्रम हुनेछ । बिहान ११ बजेदेखि ४ बजेसम्म प्रत्येक दिन भावगत भाष्कर कमलनयन गौतमबाट कथा प्रवचन हुने बताइएको छ । यसअघि चितवन, लमजुङ, पोखरा, बुटवल, दाङ, सुर्खेत र धनगढीमा सप्ताह महायज्ञ लगाइसकेकोमा १० औं महायज्ञ हेटौंडामा सुरु गरिएकाे हाे ।





