“साढे दुई वर्षको बालकलाई दूध ख्वाइरहेकी आमाले मसँग कसरी शिशुको दूध ख्वाउने बानी छुटाउने होला’ भनेर सोधिन् । मैले हरेक पल्ट दूध ख्वाउँदा तीतेपातीको रस स्तनमा लगाइदिनू भनेर सल्लाह दिएँ । दुई हप्तापछि ती महिला खुसी हुँदै मकहाँ आएर भनिन्–मेरो शिशुले तीतेपातीको रस लगाए पनि दूध खान त छोडेन तर उसको स्वास्थ्य भने राम्रो भयो । दिसा लागिरहन्थ्यो । दाल, भात, तरकारी एवं सातु केही पनि खाँदैनथ्यो तर अहिले उसको दिसा लागिरहने समस्या बन्द भयो । भात, जाउलो आदि पनि खान थालेको छ । दूध छुटाउन कुनै अन्य उपाय अपनाउनुपर्ला । नियमित रूपमा स्तनमा तीतेपाती लगाएरै दूध ख्वाउने विचार गरेकी छु । ती महिलाको कुरा मलाई रमाइलो लागेको थियो ।”
एक डाक्टरले मलाई आफ्नो अनुभव सुुनाएका थिए । यो घटना सुनेपछि मलाई लाग्यो ती आमाले थाहै नपाई तीतेपातीको औषधीय उपयोग गरेर आफ्नो शिशुको खराब पेट ठीक पारिन् । उनलाई थाहा थिएन कि तीतेपाती राम्रो औषधि हो । ती डाक्टर जसले महिलालाई स्तनमा तीतेपाती लगाउने सल्लाह दिएका थिए, उनलाई पनि तीतेपातीले खराब गर्दैन भन्ने थाहा थियो तर त्यसले शिशुको पेटको खराबी ठीक गर्छ भन्ने जानकारी थिएन ।
मैले धेरै महिला स्वास्थ्य स्वयंसेविका तथा महिला समूहहरूलाई तीतेपातीको प्रयोग गरेर कसरी महिलाहरूको प्रजनन स्वास्थ्यका केही साधारण समस्या समाधान गर्न सकिन्छ भनेर सिकाएकी छु । ती महिलाहरूले तीतेपाती गाउँघरमा जताततै देखेका थिए तर उनीहरूलाई तीतेपातीले के–के फाइदा गर्छ भन्ने जानकारी थिएन । गाउँका महिलालाई महिनावारी भएपछि गुप्ताङ्ग चिलाउने समस्या एवं सानातिना घाउमा कसरी तीतेपाती प्रयोग गर्न सकिन्छ भनेर मैले बताएँ । यो औषधिलाई दैनिक जीवनमा प्रयोग गर्न सक्ने सम्भावना पनि बताएँ ।
महिनावारी भएपछि सरसफाइको कमीले गाउँका महिलामा गुप्ताङ्ग चिलाउने समस्या (उनीहरूको भाषामा आङ चिलाउने) हुन्छ । कन्याउँदा–कन्याउँदा कति जनाको त घाउ नै हुन्छ र पीडा सहेर बस्नुपर्छ । यस्तो बेला तीतेपातीको पातबाट रस निकालिएको रस घाउ वरिपरि सफा गरेर चिलाएको ठाउँमा दल्यो भन्ने चिलाउन कम हुन्छ । यसलाई प्रयोग गर्न भने जान्नुपर्छ । तीतेपाती लगाउनुअघि सफा पानीले चिलाउने ठाउँ सफा गर्नुपर्छ । त्यसैगरी कतिपय महिला सेतो पानी बगेर समस्या भयो भनेर महिला स्वास्थ्यसेविकाकहाँ पुगी औषधि माग्छन् ।
गुप्ताङ्गबाट अलि–अलि सेतो पानी बग्छ भने त्यो समस्या होइन, प्राकृतिक कुरा हो । यसका लागि कुनै औषधि खानु पर्दैन । स्वास्थ्य स्वयंसेविकाले भन्न सक्छिन्, ‘गन्हाउने पिप जस्तो पानी बग्छ र तल्लो पेट दुख्छ भने त्यो यौन रोग हुन सक्छ । त्यसका लागि स्वास्थ्य चौकी वा अस्पतालमा जाँच गराई एन्टिवायोटिक खानुपर्ने हुन्छ । त्यसका साथै तीतेपातीलाई सफा गरेर त्यसको रस निकालेर गुप्ताङ्गमा दले वा तीतेपातीलाई सफा गरेर तातोपानीमा उमालेर त्यो पानीले गुप्ताङ्ग सफ गरे चिलाउन कम हुन्छ ।’
मैले व्यक्तिगत रूपमा तीतेपातीको प्रयोग पहिलेदेखि नै गरिआएको भए पनि यो अनुभव लेख्ने साहस बल्ल मात्र आयो, जब मैले सुनें कि सन् २०१५ को नोबेल पुरस्कार परम्परागत चिनियाँ औषधिको अन्वेषणका लागि चिनियाँ नागरिक युयु तुलाई दिइयो । उनले औलोको औषधि पत्ता लगाएकी थिइन् र उक्त औषधि तीतेपातीको रसायनबाट निकालिएको थियो । युयुले आफ्नो औषधिको पहिलो प्रयोग मुसा र बाँदरमा गरिन् । उक्त प्रयोगमा ती जीव–जन्तुको औलो शतप्रतिशत निको भयो । त्यसपछि उनले थप अनुसन्धान गरिन् र मानव जातिका लागि ‘औलो’ जस्तो रोगबाट बचाउने औषधि बनाइन् । संसारमा ६ सय प्रजातिका तीतेपाती पाइन्छन् तर ती सबैमा समान रूपले औषधीय गुण हुँदैन । यद्यपि तिनमा कुनै न कुनै औषधीय गुण पक्कै हुन्छ ।
नेपालमा तीतोपाती जताततै पाइन्छ तर यसको औषधीय प्रयोग कम गरिन्छ । गाउँघर जाँदा म गाउँका महिलालाई तीतेपातीको प्रयोगका सम्बन्धमा प्रश्न गर्छु । तीतेपातीको रसले लुतो निको हुन्छ भनेर गाउँघरमा समेत विश्वास गर्न छोडेका छन् । सानो घाउ हुनेबित्तिकै औषधि किनेर लगाउने चलन छ । जब कि म तीतेपातीको रस देश–विदेश भ्रमण गर्दा सँगै लान्छु । हामीलाई तीतेपातीको रसको मूल्य ४ सय रुपैयाँ पर्छ भनेर विश्वास लाग्दैन । अझै पनि ठूलो स्तरमा व्यावसायिक रूपमा उत्पादन नभएकाले तीतेपातीको रस केही महँगो छ । मूल्य बढी भएपछि मानिसहरूले यसमा औषधीय गुण छ भन्ने कुरा पत्याएर प्रयोग गर्न थाल्लान् कि ?
तीतेपातीको रसायनबाट निकालिएको औषधिले चिनियाँ नागरिक युयु तुलाई नोबेल पुरस्कार दिलायो र अब सम्भवत: तीतेपातीको महत्वका बारेमा छलफल सुरु हुनेछ । नेपालमा त पहिलेदेखि नै गाउँघरमा यसको प्रयोग गरिँदै आइएको छ तर त्यसका बारेमा थोरैलाई मात्र जानकारी छ ।
अकुप्रेसर र चाइनिज औषधिमा पनि यसको प्रयोग हुन्छ घुँडा दुख्ने समस्या भएकी मेरी नर्स साथी अपर्णा भट्ट भन्छिन्, ‘म तीतेपाती र पानी उमालेर त्यसको बाफ घुँडामा लिन्छु । कहिले तीतेपाती उमालेपछि सुतीको कपडा त्यसमा भिजाएर घुँडामा राख्छु । राति तातो कपडा घुँडामा हलुका तरिकाले बाँधेर सुत्छु र यसले गर्दा पीडा धेरै कम भएको छ।’ अपर्णाले तीतेपातीको औषधीय प्रयोग अन्य समस्याहरूमा पनि गरेकी छिन् ।
एकपटक आफ्नो वरिपरि ध्यान दिएर हेर्नुहोस् त कति थरिका औषधि सहजै उपलब्ध हुन्छन् । यद्यपि हामीहरूलाई प्याकेटमा राखिएका टलक्क टल्कने औषधि मात्र राम्रा हुन्छन् भन्ने लाग्छ । हाम्रो वरिपरि रहेका वस्तु तथा परम्परागत ज्ञान प्रयोग गरेर पनि स्वास्थ्य प्रवर्धन गर्न सकिन्छ भन्ने कुरा सिक्नुपर्ने बेला आएको छ ।
हाम्रो घरको भान्सामा सानातिना रोग निको पार्ने प्रशस्त औषधि छन् तर तिनका बारेमा हामीमध्ये धेरैलाई जानकारी छैन । त्यसैले सानातिना रोग लाग्नेबित्तिकै पनि चर्को मूल्य तिरेर हामी औषधि नै प्रयोग गर्छौं । स्वास्थ्य क्षेत्रमा काम गर्ने केही विज्ञले पनि महँगो स्वास्थ्य सेवा र औषधिले जनस्वास्थ्यमा नकारात्मक असर पारेको महसुस गरेर सस्ता र सुलभ रूपमा उपलब्ध हुने औषधिको खोजी गर्न थालेका छन्। अनुभवका आधारमा हाम्रा पुर्खाहरूले प्रयोग गर्ने कतिपय परम्परागत औषधिको प्रयोगशालामा वैज्ञानिक परीक्षण पनि भैसकेको छ ।
त्यस्तै हिजोआज विज्ञापनहरूमा भनिएको सुनिन्छ–‘घरको खानेकुराले बालबालिकाको शरीरलाई चाहिने क्याल्सियमको मात्रा पुग्दैन । त्यसैले उनीहरूलाई क्याल्सियमका चक्की दिनुहोस् ।’ यस्ता विज्ञापनले तथ्यरहित, झूटा र भ्रमपूर्ण सूचना प्रवाह गर्ने काम मात्र गरिरहेका छन् । घरमा पाइने ज्वानो प्रशस्त क्याल्सियम भएको वस्तु हो ।
सुत्केरी अवस्थामा ज्वानोको विशेष प्रयोग गर्नुको कारण ज्वानोले शरीरलाई चाहिने आवश्यक क्याल्सियमको परिपूर्ति गर्नुका साथै आमाको दूध बढाउनु पनि हो । आमाको दूधबाट शिशुलाई पनि क्याल्सियम प्राप्त हुन्छ ।
कतिपय अवस्थामा त स्वास्थ्यकर्मीहरूलाई पनि थाहा हुँदैन कि ज्वानोमा प्रशस्त क्याल्सियम हुन्छ । त्यसैले हामी स्वास्थ्यकर्मीले गर्भवती, सुत्केरी एवं कुपोषित मानिसहरूलाई ज्वानो खाने सल्लाह दिँदैनौं तर क्याल्सियमको चक्की खानुपर्छ भन्छौँ। नजिकको तीर्थ हेला भनेझैँ क्याल्सियमले भरिपूर्ण ज्वानो घरमा छँदाछँदै महँगो क्याल्सियमको चक्की किन भन्ने प्रश्न पनि उठ्ला । किनभने हामीलाई आफ्नै खानेकुराका बारेमा ज्ञान छैन । ज्वानोको प्रयोगले कुपोषणको सिकार भएका तथा लामो बिमारीपछि उठेका बालबालिका, वृद्धा एवं गर्भवती महिला सबैलाई फाइदा पुर्याउँछ ।
ज्वानोलाई झोलका रूपमा प्रयोग गरिनुका अतिरिक्त तरकारीमा भुटनका रूपमा प्रयोग गर्ने चलन पनि छ । क्वाँटी वा गेडागुडी पकाएपछि ज्वानोले झान्ने चलनको पछाडि पनि वैज्ञानिक कारण छ । क्वाँटी वा गेडागुडी खाँदा कसैकसैलाई पेटमा ग्यास (वायु) हुन्छ । गेडागुडी खाएपछि पेट डम्म फुलेजस्तो हुने र पेट कराउने हुन्छ । ज्वानोले वायु हुन दिँदैन । त्यसैले ज्वानोलाई भुटनका रूपमा प्रयोग गरिएको हो ।





