चितवनका पुस्तक व्यवसायीद्वारा दाहाखानीका विद्यार्थीलाई शैक्षिकसामग्री वितरण

भरतपुर, २१ माघ ।
नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी संघ चितवन शाखाले १२ औँ राष्ट्रिय पुस्तक दिवस तथा सरस्वती पूजाको अवसर पारेर श्री आदर्श आधारभूत विद्यालय इच्छाकामना- ७ दाहाखानीका विद्यार्थीलाई शैक्षिक सामग्री उपलब्ध गराएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद तामाङ र प्रधानाध्यापक भक्तबहादुर गुरुङको रोहवरमा विद्यार्थीलाई झोला, कापी, कलम, ज्यामितिबक्स, क्यालकुलेटर, सिसाकलम, सापनर, इरेजर, खेलकुदका सामग्री, मुना बालपत्रिका र अन्य विभिन्न बालकथा उपलब्ध गराइएको कार्यक्रम संयोजक अर्जुन बगालेले बताउनु भयो ।

शैक्षिक एवम् खेलकुदका सामग्री लिएर गएको टोलीलाई विद्यालयका छात्राहरूले लोकनृत्यमार्फत स्वागत गर्नुभएको थियो । विद्यालयका प्रधानाध्यापक भक्तबहादुर गुरुङले अप्ठ्यारो बाटोलाई छिचोल्दै आफ्नो विद्यालयमा आएर शैक्षिक एवम् खेलकुदका सामग्री उपलब्ध गराएकोमा संघलाई धन्यवाद दिनुभयो । वि.सं. २०२८ सालमा स्थापना भएको यस विद्यालयमा बाल विकासदेखि कक्षा ८ सम्म करिव १०० विद्यार्थी अध्ययनरत छन् । यस विद्यालय नारायणगढ – मुग्लिङ राजमार्गको गाइघाटबाट २० किलोमिटर टाढा पर्छ ।

कार्यक्रममा नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघका पूर्व अध्यक्ष एवम् सल्लाहकार सभापति नवनिधि पन्त प्रमुख अतिथि रहनुभएको थियो भने केन्द्रीय उपाध्यक्ष सरोज मास्के विशिस्ट अतिथि रहनुभएको थियो । प्रमुख अतिथि पन्तले चितवन शाखाले जिल्लाको विकट ठाउँमा आएर यहाँका विद्यार्थीलाई शैक्षिक एवम् खेलकुद सामग्री उपलब्ध गराएर महत्त्वपूर्ण एवम् प्रशंसनीय काम गरेको बताउनुभयो । उहाँले आफ्नो नेतृत्वमा सरकारसँग समन्वय गरी राष्ट्रिय पुस्तक दिवसलाई क्यालेन्डरमा समेत राखेर देशव्यापीरूपमा मनाउन थालिएको स्मरण गर्नुभयो । कार्यक्रममा पूर्व अध्यक्ष राजेन्द्र तिवारीले शुभकामना मन्तव्य तथा उपाध्यक्ष रीता लम्साल ढकालले स्वागत मन्तव्य राख्नुभएको थियो । जिल्ला शाखाका प्रथम उपाध्यक्ष वीरबहादुर न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सचिव केशव देवकोटाले सहजीकरण गर्नुभएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट