चितवन, २१ माघ ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सोमबार ६ कोठे विद्यालय भवनको शिलान्यास गरेकी छन् । मेयर दाहालले भरतपुर–६ मा रहेको देवज्योति आधारभूत विद्यालयको ६ कोठे भवनको शिलान्यास गरेकी हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले देवज्योति आधारभूत विद्यालय भरतपुर ६ लाई नमुना विद्यालयका रुपमा अगाडि बढाइएको बताइन् ।
उनले भरतपुर महानगरपालिकाले गत वर्ष ४ कोठे भवनको निर्माण गरिसकेको र अहिले फेरि बागमती प्रदेश सरकार र महानगरको साझेदारीमा ६ कोठे भवन निर्माण गर्न लागिएको जानकारी दिइन् ।
प्रमुख दाहालले विद्यालयको पुरानो भवन अति जीर्ण अवस्थामा रहेकाले नयाँ सुविधासम्पन्न भवन निर्माण गर्नुपर्ने अवस्था आएको बताइन् । विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई सहज वातावरण बनाउन पूर्वाधार निर्माण गर्नुपर्ने देखिएकाले गत वर्षदेखि भवन निर्माणलाई प्रथामिकतामा राखिएको उनको भनाइ थियो ।
नयाँ ६ कोठे भवन निर्माण भएपछि विद्यालयसँग पर्याप्त भौतिक संरचना हुनेछ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवराज सापकोटाका अनुसार यसअघि ८० जना रहेको विद्यार्थी संख्या वृद्धि भई १ सय ५२ जना पुगेको छ ।





