कवि एकदेव रिमालको `चिसो बाकस´ सार्वजनिक

गैँडाकोट, १७ माघ ।
कवि तथा युवा व्यवसायी एकदेव रिमालको पहिलो कृति ‘चिसो बाकस’ कवितासंग्रह बिहीबार गैंडाकोटमा एक समारोहबिच लोकार्पण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि गैँडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारी, गैँडाकोट नगर प्रज्ञाप्रतिष्ठानका उपकुलपति गोविन्दराज विनोदी, कविका मातापिता जमुनादेवी र ईश्वरीनाथ रिमाल, गैंडाकोट नगरपालिकाकी उपप्रमुख शान्ति कोइरालालगायतले कृति लोकार्पण गरेका हुन् ।

गैँडाकोट नगर प्रज्ञाप्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मेयर अधिकारीले आफू प्राज्ञ नभएकोले निकट भविष्यमै नगर प्रज्ञाप्रतिष्ठानको कुलपति पदबाट हट्न लागेको जानकारी दिए । ‘नगर प्रमुखको हैसियतलेमात्र कुलपति बनेको हुँ’ उनले भने, ‘आठ–दस दिनमा कुलपति पद कुनै प्राज्ञलाई दिँदैछु ।’

चिसो बाकस कवितासंग्रहमाथि टिप्पणी गर्दै कवि एवं आख्यानकार भूपिनले कविता धेरै गम्भीर विधा भएको र यसको आबद्धता संस्कृतिसँग हुने बताए । ‘केही कवितामा व्यङ्ग्य र विद्रोह छ’ उनले भने, ‘प्रयोगशील कविता पनि छन् ।’

लेखक उदय अधिकारीले आध्यात्मिक रुझानका साथ ‘चिसो बाकस’ आएको बताए । `प्रवासमा रहेका नेपालीका पीडा र रोदन पनि चिसो बाकसमा भरिएका छन्´, अधिकारीले भने ।

शुभकामना मन्तव्य व्यक्त गर्दै शिक्षक एवम् बाम बुद्धिजीवी प्रेम रिमालले रहर पूरा गर्न नभई देशका लागि लेख्न कवि, लेखकहरुलाई आग्रह गरे ।

गैँडाकोट नगर प्रज्ञाप्रतिष्ठानका उपकुलपति गोविन्दराज विनोदीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव भीमप्रसाद शर्माले स्वागत मन्तव्य राखेका थिए । उपकुलपति विनोदीले चिसो बाकसमा पुराण, इतिहास, भूगोल, प्रकृति, संस्कृति, समाज र वैदेशिक रोजगारीका विम्बहरु समातेर लेखिएका कविता रहेको बताए ।

कृतिकारका पिता ईश्वरीनाथ रिमालले मन्तव्य व्यक्त गर्दै कृतिमा ५१ वटा कविता रहेको जानकारी गराए । कृतिकार एकदेव रिमालले मन्तव्यसँगै तीन वटा कवितावाचन गरेका थिए । कविले ‘चिसो बाकस’लाई आफ्नो पहिलो सन्तानको रूपमा लिएको बताउँदै देशमा भएको प्राकृतिक स्रोतको सदुपयोग, जीवन भोग र पछिल्लो अवस्थाको जीवन चित्रण गरिएको बताए । कविले आफ्नो कृतिमा जिन्दगीको कष्टसाध्य अवस्था र ईर्ष्यामुक्त समाजको कल्पना आफ्नो कृतिमा व्यक्त गरेका छन् ।

कार्यक्रममा कविहरू बालकृष्ण थपलिया, गणेश श्रमण, गोविन्द रिमाल, मीना रिमाल र विश्वराज लम्सालले पनि कृतिभित्रका केही कवितावाचन गरेका थिए । गैंडाकोट प्रज्ञाप्रतिष्ठानले प्रकाशन गरेको पुस्तकको मूल्य ४३०/- रुपैयाँ रहेको छ । पुस्तकको वितरक सम्पूर्ण किताब नारायणगढ रहेको छ । कार्यक्रमलाई कवि सुरेन्द्र अस्तफलले सहजीकरण गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट