भारतको महाकुम्भ भागदौडमा मृत्यु हुनेको संख्या ३० पुग्यो

भारत, १६ माघ ।

विश्वको सबैभन्दा ठूलो धार्मिक जमघटमा भएको भागदौडमा मृत्यु हुनेको संख्या ३० पुगेको छ । भारतीय सञ्चार माध्यम इन्डियन एक्सप्रेसका अनुसार अहिलेसम्म ३० जनाको मृत्यु हुँदा ६० जना घाइते भएका छन् ।

‘अहिलेसम्म ३० जनाको मृत्यु हुँदा ६० जना घाइतेको उपचार भइरहेको छ’’, इन्डियन एक्सप्रेसको समाचारमा उल्लेख छ ।

उद्धार टोलीले तीर्थयात्रीसँग मिलेर कपडा, जुत्ता र अन्य छरिएका सामानले भरिएको स्थलबाट पीडितलाई बोकेर लैजाँदै गरेको देखिएको थियो ।

प्रहरी अधिकारीले बाक्लो कम्बलले ढाकिएका मृतकहरूको शव स्ट्रेचरमा बोकेर हिँडेको देखिन्थ्यो ।

दर्जनौँ आफन्तहरू दुर्घटनास्थलबाट करिब एक किलोमिटर टाढा उत्सवका लागि बनाइएको अस्थायी अस्पतालको ठूलो पालबाहिर चिन्तित भएर समाचारको प्रतीक्षा गरिरहेका थिए ।

बुधबार उत्सवको सबैभन्दा पवित्र दिनहरू मध्ये एक हो । उत्सवमा भगवा वस्त्रधारी साधुहरूले लाखौँ भक्तजनलाई गङ्गा र यमुना नदीको सङ्गमस्थलमा पाप-मुक्तिका लागि पवित्र स्नान गराउने कार्यक्रम थियो ।

स्थानीय सरकारी अधिकारी आकांक्षा राणाले प्रेस ट्रस्ट अफ इन्डिया (पिटिआई) समाचार एजेन्सीलाई केही भीड नियन्त्रण अवरोधहरू ढलेपछि भागदौड सुरु भएको जानकारी दिनुभयो ।

तीर्थयात्री मालती पाण्डेले उहाँ ब्यारिकेड गरिएको पैदल मार्गमा नदीमा नुहाउन जाँदै गर्दा भागदौड सुरु भएको बताउनुभयो ।

कुम्भ मेला हिन्दू पौराणिक कथामा आधारित छ, जसमा अमृत कलश नियन्त्रणका लागि देवता र दानवबिच युद्ध भएको थियो ।

आयोजकहरूले यस वर्षको उत्सवको आकारलाई एक अस्थायी देशसँग तुलना गरेका छन् । फेब्रुअरी २६ को अन्तिम दिनसम्म ४० करोड तीर्थयात्री आउने अनुमान गरिएको छ ।

घातक भीड दुर्घटनाको जोखिमलाई ध्यानमा राख्दै प्रहरीले यस वर्ष उत्सवस्थल र फराकिलो शिविरतर्फ जाने सडकमा सयौँ क्यामेरा जडान गरेको छ । ती पोल र ड्रोनहरूमा जडित छन् ।

निगरानी नेटवर्कलाई एक परिष्कृत कमाण्ड एन्ड कन्ट्रोल सेन्टरमा जोडिएको छ जसले भीडको केही भाग यति सघन भएमा सुरक्षाको खतरा हुनसक्ने सम्बन्धमा कर्मचारीहरूलाई सचेत गराउँछ ।

सन् १९५४ मा कुम्भ मेलाको एकै दिन कुल्चिएर वा डुबेर चार सयभन्दा बढी मानिसको मृत्यु भएको थियो । यो विश्वव्यापी रूपमा भीड–सम्बन्धित विपत्तिमा सबैभन्दा ठूलो मृत्यु सङ्ख्या मध्ये एक हो ।

उत्तरी शहर प्रयागराजमा अन्तिम पटक सन् २०१३ मा आयोजित उत्सवमा अन्य ३६ जनाको कुल्चिएर मृत्यु भएका थियो ।

 

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट