रत्ननगर, १५ माघ ।
चितवनको कालिका नगरपालिकामा रहेको कालिका भगवती मन्दिरको ३३ औँ वार्षिकोत्सव यहि माघ १६, १७ र १८ गते मनाईने भएको छ । कालिका भगवती माई नित्य पूजा तथा व्यवस्थापन समितिले सोमबार पत्रकार सम्मेलन गरी वार्षिकोत्सव कार्यक्रम बारे जानकारी गराएको हो ।
वार्षिकोत्सवको पहिलोदिन १६ गते कार्यक्रमको उद्घाटन, साँझमा पितृहरुको नाममा बत्ती बाल्ने कार्यक्रम गरेर रातभर जाग्राम बस्ने र १७ गते कालिका भगवतीको विशेष पूजाआजा गरी नवनिर्मित मन्दिरमा देवीको प्रतिमा स्थापना गरिने छ । लगत्तै कालिकाका मेयर विनोद रेग्मीले झन्डै १ करोड खर्च गरेर निर्माण गरिएको मन्दिरको उद्घाटन गर्नेछन् ।
सो अवसरमा विविध सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिने समितिले जनाएको छ । साँस्कृतिक कार्यक्रममा चर्चित कलाकारहरु अस्मिता डल्लाकोटी, कृष्ण कँडेल, छत्र शाही, शक्तिकुमार गोदार, युवराज चौलागाई सँगै ईन्द्रेणी टिम र स्थानीय कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
यसपटकको वार्षिकोत्सव भव्य र उत्कृष्ट बनाउन कालिका नगरपालिकाको अगुवाईमा कालिका मन्दिर परिसरमा निर्माण र व्यवस्थापनको काम भईरहेको छ । वार्षिकोत्सवलाई नै लक्षित गरी कालिका मन्दिर परिसर दुलही जस्तै चिटिक्क बनाएर सिँगारिएको छ । मन्दिर आसपासका रुख, चौतारा तथा ठुलाठुला ढुंगाहरुमा कलात्मक आकृतिहरु बनाईएको छ ।
मन्दिरको पूर्वतर्फ रहेको कर्णनदीमा स्नान गर्न सहज गराउने उद्देश्यले सिँढीको निर्माण गरिएको छ । साथै मन्दिर नजिकै कालिकाको कोशेलीघर समेत निर्माण गरिने छ । कोशेलीघरमा कालिकाका उद्ममीले उत्पादन गरेका सामग्रीहरुको प्रदर्शन र विक्रिवितरण गरिने प्रचारप्रसार समिति सदस्य उमेश सापकोटाले जानकारी दिए ।





