चितवन, १४ माघ ।
रोटरी अफ क्लब चितवनको डिष्ट्रिक्ट गभर्नर भ्रमण एवं नियमित साप्ताहिक बैठक सम्पन्न भएको छ । क्लबका अध्यक्ष भानु शर्माको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।
कार्यक्रमको प्रमुख अतिथि रोटरी अन्तर्राष्ट्रिय ३२९२ का डिष्ट्रिक्ट गभर्नर राजेन्द्रमान शेरचन थिए । अतिथिमा पूर्व डिष्ट्रिक्ट गभर्नर रविन्द्र पिया, सहायक गभर्नर हरिप्रसाद सुवेदी, सहसचिव अशोकमान कपाली थिए ।
क्लबका अध्यक्ष भानु शर्माले सचिव पुरुषोत्तम रिजाल र निर्वाचित अध्यक्ष रामचन्द्र अधिकारीसँग समग्र अवस्था र योजनाहरुबारे जानकारी लिँदै बैठक समापन गरेका थिए ।
क्लब एसेम्ब्लीमा क्लब एड्मिन चेयर इ. लोमस अधिकारी, सर्भिस प्रोजेक्ट चियर डा. मनोहर प्रधान, मेम्बरसीप चेयर इ. पुरन सुवेदी, रोटरी फाउन्डेसन चेयर गोपाल गैरे र पब्लिक इमेज ऋषिराम न्यौपानेले रिपोर्ट पेश गरेका थिए ।
रिपोर्ट पेश गरिसकेपछि डिष्ट्रिक्ट गभर्नर राजेन्द्रमान शेरचनले रिपोर्टको बारेमा थप जानकारी माग गर्दै रोटरी अन्तर्राष्ट्रिय एवं डिष्ट्रिक्टका योजना एवं लक्ष्यहरुबारे प्रष्ट पारेका थिए ।
कार्यक्रममा नयाँ सदस्य कृष्ण रिजाल र पंकज अग्रवाललाई स्वागत गर्दै शपथ ग्रहण गराइएको थियो ।
नियमित साप्ताहिक बैठकमा अतिथिहरुलाई अध्यक्ष भानु शर्माले स्वागत गरेका थिए भने ज्ञानेन्द्र श्रेष्ठ, विश्वबन्धु अधिकारी, प्रतापसिंह गुरुङ र पंकज अग्रवाललाई विवाह उत्सवको शुभकामना दिइएको थियो । गत बैठकको निर्णयको अनुमोदन गर्दै गतिविधिहरुको जानकारी गराइएको थियो ।
भवन निर्माणका लागि सहयोग गर्ने महनुभावहरुलाई प्रमुख अतिथि डिष्ट्रिक्ट गभर्नर राजेन्द्रमान शेरचनद्वारा अभिनन्दनपत्र प्रदान गरिएको थियो । अध्यक्ष शर्माले सबैलाई धन्यवाद दिँदै बैठक समापन गरेका थिए ।
कार्यक्रममा रोटरी क्लब चितवन अन्तर्गत रहेका रोट्रयक्ट क्लब एवं अङ्कुरम्, सनराइज र ग्रीनल्याण्ड स्कुलका इन्ट्रयक्ट क्लबका अध्यक्ष, सचिवलगायत पदाधिकारीहरुसँग अन्तरक्रिया बैठक गरिएको थियो । स्कुल, कलेज र समुदायमा रोटरी अभियान अघि बढाउन, पोलियोविरुद्ध अभियान चलाउन र धेरै युवाहरुलाई सामाजिक कार्यमा उत्प्रेरित गर्न अनुरोध गरिएको थियो ।
परियोजना भ्रमण
मेरुदण्ड पक्षघात भएका बिरामीहरुलाई पुनःस्थापनका लागि संचालन गर्न लागिएको नारायणगढ नयाँ सडकस्थित उदयकुमार चमेलीदेवी स्पाइनल पुनःस्थापन केन्द्र एवं रोटरी अन्तर्राष्ट्रियबाट सहयोग प्राप्त चितवन मेडिकल कलेजको आइसियू कोभिड–१९ (जसमा ३० वटा भेन्टिलेटर प्राप्त भएको थियो) को अवस्था र सर्वसाधारणले पाइरहेको सुविधाबारे डिष्ट्रिक्ट गभर्नर राजेन्द्रमान शेरचनद्वारा अवलोकन भ्रमण सम्पन्न भएको थियो । अवलोकन भ्रमण टोलीमा क्लबका अध्यक्ष एवं पदाधिकारी, प्रमुख अतिथि र अतिथिहरुको सहभागिता रहेको थियो ।





