भरतपुर, १२ माघ ।
लेट्स टकको ८५ औँ शृङ्खलामा छन्द कवितावाचन कार्यक्रम गरिएको छ ।
बागेश्वरी असल शासन क्लब (बास) चितवन शाखासँगको सहकार्यमा होटल अशोका भरतपुरमा गरिएको कार्यक्रममा प्रवीण काफ्ले, विवेक पराजुली, विदुर अधिकारी, सुनीता बटाला लोककल्याणी, सूर्यमणि रेग्मी र हरिप्रिया रिजालले छन्द कविता प्रस्तुत गर्नुभयो । कार्यक्रममा ६ जना स्रस्टाले ३/३ वटा छन्द कविता सुनाउनु भयो ।
वाचन भएका कविताका बारेमा छन्दकवि लकास पौडेलले टिप्पणी राख्नुभएको थियो । बास चितवनका अध्यक्ष मणिराज अधिकारीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमलाई लेट्स टकका संयोजक आकाश पौडेलले सहजीकरण गर्नुभएको थियो । लेट्स टकले साहित्य र शिक्षा सँगसँगै समसामयिक सन्दर्भमा पनि कार्यक्रम गर्दै आइरहेको संयोजक पौडेलले बताउनु भयो ।




