भरतपुर, १० माघ ।
चितवनका सडकमा गुड्ने मोटरसाइकल र स्कुटरका नम्बरप्लेट नियालेर हेर्ने हो भने धेरै नम्बरप्लेट खुइलिएका भेटिन्छन् । तर ती मोटरसाइकल निर्वाध कुदिरहेका हुन्छन् ।
कायाकैरन प्रतिनिधिले बिहीबार नारायणगढ र भरतपुरका सडकमा कुदिरहेका मोटरसाइकललाई चासो दिएको थियो । ती मध्ये केही नम्बरप्लेट पूर्णरूपमा खुइलिएका थिए भने केही धमिलोधमिलो तर नजिकैबाट हेर्दा मात्रै बुझिने खालका थिए ।
सडकमा ठाउँ ठाउँमा ट्राफिक चेकिङ हुने भए पनि ट्राफिकले नम्बर प्लेट चेक गरेको देखिँदैन । लाइसेन्स र ब्लुबुक चेक गरेर छाड्ने बानीले चालकलाई पनि आफ्नो नम्बर खुइलिएकोमा मतलब हुँदैन । `तपाईंको मोटरसाइकलको नम्बर खुइलिएछ नि !´ कायाकैरनकर्मीको जिज्ञासामा एकजना चालकले भने – `अहिलेसम्म ट्राफिकले देखेका छैनन् क्यारे, अब नयाँ लेख्नुपर्ला ।´
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक गायत्रीराज शर्माले भने ट्राफिक अनुगमन निरन्तर भैरहेको बताउनु भयो । `हाम्रो अनुगमन निरन्तर छ । चितवन ठुलो जिल्ला भएका कारण केही सवारीसाधन छुटफुट हुन सक्लान् । तर गल्ती देखिएका सवारीसाधनलाई कानुन अनुसारको कारबाही गरिरहेका छौँ´, ट्राफिक प्रमुख शर्माले भन्नुभयो ।
अस्पष्ट नम्बरप्लेटका मोटरसाइकल दुर्घटनामा पर्दा भाग्ने र पहिचान नहुने संभावना पनि धेरै रहन्छ । ट्राफिक प्रहरीले यस्ता मोटरसाइकललाई अनुगमन गरी सवारी चालकले आफ्ना नम्बरप्लेट स्पष्ट राख्न आवश्यक कारबाही थाल्नुपर्छ ।





