मकवानपुर, १० माघ ।
बागमती प्रदेश सरकारले सहिद दिवस २०८१ तीन दिन मनाउने भएको छ । प्रदेश सरकारले माघ १४, १५ र १६ गते तीन दिन प्रदेशस्तरमा विविध कार्यक्रमको आयोजना गरी सहिद दिवस मनाउने निर्णय गरेकाे हाे ।
प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा भएको सरोकारवालाहरूकाे भेलाले सहिद दिवस विशेष कार्यक्रमहरू आयोजना गरी भव्यताका साथ मनाउने निर्णय गरेको मन्त्रालयले जनाएको छ । सहिद दिवस मनाउन प्रदेश सरकारमा प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ ।
दिवसको अवसरमा माघ १४ गते स्वास्थ्य मन्त्रालयले प्रदेशको १३ वटै जिल्लामा स्वास्थ्यसम्बन्धी शिविर सञ्चालन गर्ने निर्णय गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव पूर्णबहादुर दर्जीले जानकारी दिए । दिवसका अवसरमा प्रदेशभरका सम्पूर्ण विद्यालयमा नियमित शैक्षिक क्रियाकलापका अतिरिक्त सहिदको विषयसँग सम्बन्धित निबन्ध प्रतियोगिता गरिने र माघ १६ गते हेटौँडा ११ स्थित सहिद स्मारकमा मूल समारोह कार्यक्रम सञ्चालन गरिने उनले बताए । यसअघि सहिद स्मारक प्रवेशद्वारमा भेला भई प्रभातफेरी गर्ने गरी कार्यक्रम तय गरिएको छ ।
दिवसकाे अवसरमा ३ दिन प्रदेश मन्त्रालय/कार्यालयहरू र सार्वजनिक स्थानको विशेष सरसफाइ गरिने कार्यक्रम रहेकाे छ भने प्रदेश राजधानी रहेकाे हेटौंडा नगर क्षेत्र सरसफाइको जिम्मेवारी हेटौंडा उपमहानगरपालिकालाई दिइएको उनले जानकारी दिए । यस्तै, माघ १६ गते साँझ प्रदेशस्थित सबै मन्त्रालय/कार्यालयहरू/सार्वजनिक एवम् सामुदायिक सङ्घसंस्था, शैक्षिक प्रतिष्ठान तथा निकायले दिपावली गर्ने र सो कार्यका लागि प्रदेशवासीलाई समेत अनुरोध गर्ने निर्णय गरेको मन्त्रालयले जनाएको छ ।
सहिद दिवसमा प्रदेशभर सबै सार्वजनिक निकायमा सम्बन्धित निकायले राष्ट्रिय झण्डा फहराउने, हेटौंडास्थित बुद्ध चोक र बसपार्कलगायतका तीन वटा सार्वजनिक स्थलमा राष्ट्रिय झण्डा राख्ने र सबै प्रदेश मन्त्रालय/निकायहरूले आफ्नो बेवसाइटको होमपेजमा सहिद दिवस, २०८१ लेखिएको व्यानर राख्ने निर्णय गरिएकाे छ ।
१६ गतेको मूल कार्यक्रममा प्रभातफेरी तथा मञ्च व्यवस्थापनको जिम्मेवारी स्मारक विकास समितिले गर्ने भएको छ ।





