फूलमाया रानाभाट चितवनको पहिलो महिला कानुन व्यवसायी हुनुहुन्छ । उहाँ नेपालको कानुनी क्षेत्रमा एक प्रेरणादायक र संघर्षशील व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ ।
उहाँले विस २०५१ सालदेखि नेपाल बार एशोसियन चितवनमा दर्ता भएर न्यायिक क्षेत्रमा काम शुरु गर्नुभएको हो । रानाभाट हालसम्म पनि अनवरत रुपमा क्रियाशील हुनुहुन्छ । उहाँले विभिन्न समय गरी ३ पटक चितवन बारको विभिन्न पदमा पुगेर नेतृत्व गरिसक्नुभएको छ ।
विस २०५३ सालमा सबै पदमा निर्वाचन हुँदा उहाँलाई मात्र कोषाध्यक्षमा सर्वसम्मत गरिएको थियो । यसैगरी उहाँले बारको उपाध्यक्ष र केन्द्रीय पार्सद भएर पनि काम गरिसक्नु भएको छ ।
नेपाल बार एशोसियन चितवनले ५० वसन्त पार गरी स्वर्ण महोत्सव मनाइसकेको छ । तर हालसम्म एक जना महिला पनि नेतृत्वमा पुग्न सकेका छैनन् । जिल्लामा अब्वल र खारिएका महिलाहरु क्रियाशील हुनुहुन्छ तर अध्यक्षमा भने महिलालाई पुर्याउन कन्जुस्याँई नै गरिरहेको देखिन्छ ।
यसपटक भने हिम्मत गरेर जिल्लाकै पहिलो महिला कानुन व्यवसायी फूलमाया रानाभाटले अध्यक्षमा उम्मेदवारी दिनुभएको छ । कानुनीसँगै सामाजिक सेवामा पार्टीभन्दा माथि उठेर हजारौँलाई न्याय दिलाउनुभएकी रानाभाटलाई यतिबेला सबैको सहयोगको खाँचो छ ।
आफू पदमा रहँदा वा नरहँदा पार्टीभन्दा माथि उठेर कानुनी अधिकारसँगै सामाजिक अभियानमा पनि फूलमाया उत्तिकै सक्रिय हुनुहुन्छ । सबै क्षेत्रमा महिलाको सहभागिता र नेतृत्वमा पुर्याउनुपर्छ भनेर दरिलो आवाज उठाइरहने रानाभाटको नेतृत्वले नेपाल बारलाई उचाईमा पुर्याउन मद्धत पुग्ने आम मानिसको विश्वास छ ।
कानुनी पेशामा आज पनि महिलाको उपस्थिति न्यून छ तर फूलमायाले शुरुआत गरेकै कारण हाल २१ जना महिलाहरु नेपाल बार एशोसियनमा दर्ता भएर काम गरिरहेका छन् । शुरुआती दिनमा उहाँको जीवनमा पनि धेरै कठिनाइहरू र चुनौतीहरू थिए । विशेष गरेर कानुनी पेशामा महिलाको स्थान निकै सीमित थियो । तर पनि फूलमायाले ती यावत चुनौतीको सामना गर्दै अनवरत लागिरहनुभयो ।
शिक्षा र करियर यात्रा सँगसँगै समाजमा महिलाहरूको कानुनी अधिकार र न्यायका पक्षमा उहाँले महत्वपूर्ण योगदान पुर्याउनु भएको छ । उहाँको संघर्षपूर्ण यात्रा र सफलताको कथाले कानुनी क्षेत्रमा महिलाहरूको सहभागिता बढाउन प्रेरित गरिरहेको छ । चितवनको सान चितवनको गौरव जिल्लाकै पहिलो महिला कानुन व्यवसायीका रूपमा परिचित रानाभाट कानुनी परामर्शदाताको साथ साथै एक सामाजिक अभियन्ता पनि हुनुहुन्छ । उहाँको अनुभवले कानुनी पेशाका चुनौतीहरू बुझ्न र बार एसोसिएसनको महत्वलाई अझ गहिरो रूपमा अनुभूति गर्न सक्षम बनाउनेछ ।
रानाभाट भन्नुहुन्छ : `व्यावसायिक विकास सुदृढीकरण, सदस्यहरूको हित प्रवर्धन र न्यायसम्म पहुँचलाई विस्तार गर्ने प्रतिबद्धताका साथ चुनावी मैदान छ, सबैको साथ र सहयोगको अपेक्षा छ । तपाईंको मत एउटा छनोट मात्र नभई हाम्रो एसोसिएसनलाई सुधार, एकता, र उत्कृष्टताको दिशामा अघि बढाउने एक दृढ कदम हुनेछ ।´
बाल्यावस्था र शिक्षाः
फूलमाया रानाभाट सामान्य परिवारमा जन्मनु भएको हो । उहाँको बाल्यावस्था संघर्षपूर्ण थियो । उहाँका माता–पिता र परिवारले शिक्षाको महत्वलाई बुझेर उहाँलाई प्रोत्साहन दिइरहनुहुन्थ्यो । समाजमा महिलाहरूको स्थिति कमजोर भएको समयमा, कानुनी क्षेत्रमा महिलाहरु निकै थोरै मात्र थिए, तर उहाँले महिलाका अधिकारको पक्षमा आवाज उठाउने उद्देश्य राखेर कानुनमा आफ्नो करियर खोज्न थाल्नुभयो । उक्त समयमा उहाँले धेरै कठिनाइहरूको सामना गर्नुपर्यो, खासगरी महिलाको रुपमा कानुनी क्षेत्रमा प्रवेश गर्नु निकै चुनौतीपूर्ण थियो । समाजका धेरै महिलाहरूलाई कानुनी पेशामा पटकपटक हतोत्साही पारिन्थ्यो तर उहाँले यी सबै चुनौतीहरूलाई पार गर्दै कानुन व्यवसायीको रूपमा आफ्नो स्थान बनाउनुभयो । समाजमा देखिएका यावत समस्याहरूको सामना गर्दा उहाँले महिलाका अधिकार र सामाजिक न्यायको पक्षमा काम गर्न थाल्नुभयो ।
संघर्ष र उपलब्धिः
फूलमाया रानाभाटको जीवनमा संघर्षहरू निरन्तर जारी रहे । महिला कानुनी व्यवसायीको रुपमा पुरुष प्रधान समाजमा उहाँले ठूलो चुनौतीको सामना गर्नुपर्यो । यद्यपि उहाँको धैर्य र संघर्षले उसलाई निरन्तर सफलता दिइरहेको छ ।
चरणबद्ध प्रयास र समर्पणका कारण, फूलमाया रानाभाट चितवनको पहिलो महिला कानुनी व्यवसायीको रूपमा चिनिनुभयो । उहाँको योगदान र संघर्षको चर्चा गर्दै दर्जनौ संघसंस्थाले उहाँलाई सामाजिक रुपमा सम्मान गरेका छन् । चितवन बार एशोसियनले उहाँलाई स्वर्ण महोत्सवको अवसरमा जिल्लाकै पहिलो महिला कानुन व्यवायीको रुपमा सम्मान गरेको छ । यस्तै आदर्श नारी विकास केन्द्र चितवन, आदर्श गृह नेपाल, कालिका एफएम, नारायणगढ लेडी जेसीज, शारदानगर जेसीज, स्यालीवजार टोल सुधार समिति, जिल्ला प्रहरी कार्यालयलगायतका दर्जनौँ संघसंस्थाले उहाँलाई सम्मान गरेका छन् । सकारात्मक सोच, साझा व्यवहार र सरल स्वभावकी फूलमाया सबैकी प्रिय पात्र हुनुहुन्छ । हाल उहाँ महिला अधिकारका पक्षमा आवाज उठाउने र सामाजिक न्यायका क्षेत्रमा सक्रिय हुनुहुन्छ ।
जीवन संघर्ष, मेहनत र साहसको प्रतीक फूलमाया रानाभाटलाई नेपाल बार एशोसियन चितवनको आसन्न निर्वाचनमा मत दिएर विजयी गराएमा सम्पूर्ण कानुन व्यवसायीको साख जोगिनेछ ।





