चितवन, ९ माघ ।
प्राकृतिक प्रकोप र मानवीय कमजोरीका कारण हुने अग्निजन्य दुर्घटना न्यूनीकरणका लागि आगो निभाउने तालिम नारायणगढको बालकुमारी कन्या माध्यमिक विद्यालयमा सम्पन्न भएको छ ।
लायन्स क्लब अफ नारायणगढ नारायणीको आयोजना र लायन सरला पियाको संयोजनमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि समाजसेवी लायन दीनानाथ न्यौपाने थिए । उनले यस्ता कार्यक्रमले समाजमा आगलागी र आगलागीबाट हुने क्षति कम हुने विश्वास व्यक्त गर्दै विद्यार्थी भाइबहिनीहरुले कार्यक्रममा सिकेका ज्ञान घर र समाजमा पुर्याएर योगदान दिने कुरामा आफू आशावादी रहेको बताए ।
कार्यक्रमको उद्देश्य र अभ्यासबारे श्रोतव्यक्ति कैलाश खाकी श्रेष्ठ र कविता भट्टराई गुरुङले विद्यार्थीहरुलाई जानकारी गराएका थिए । कार्यक्रममा आगो निभाउने उपकरण हस्तान्तरणसमेत गरिएको थियो ।
लायन्स क्लब अफ नारायणगढ नारायणीकी अध्यक्ष रसु श्रेष्ठ पियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष सुधा जोशी, लायनहरू दुर्गालक्ष्मी श्रेष्ठ, नवराज सापकोटा, प्रभाकर पण्डित, राजकुमार श्रेष्ठ, सनदकुमार पिया, समाजसेवी एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बालगोपाल चुके, जनप्रतिनिधि राममाया पिया, अञ्जु पिया लगायतको उपस्थिति रहेको थियो ।





