प्रहरी हिरासतमा रहेकाहरूका लागि पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ चितवनद्वारा पुस्तक हस्तान्तरण

भरतपुर, २८ पुस ।
नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघले १९ औँ स्थापना दिवस आइतबार विभिन्न कार्यक्रम गरी मनाएको छ । यसैक्रममा चितवन शाखाले महासंघको १९ औँ स्थापना दिवसका अवसरमा भरतपुरस्थित जिल्ला प्रहरी कार्यालयलाई करिव २०० थान किताब उपलब्ध गराएको छ ।

महासंघका केन्द्रीय उपाध्यक्ष सरोज मास्के, चितवन शाखाका पूर्व अध्यक्ष पंकज अग्रवाल, सल्लाहकार महेन्द्र कोइरालालगायतको उपस्थितिमा चितवन शाखाका उपाध्यक्ष वीरबहादुर न्यौपानेले जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महतोलाई किताब उपलब्ध गराउनुभएको हो । विभिन्न कारणबाट प्रहरी हिरासतमा रहेका थुनुवाहरूलाई यी किताबमार्फत समय व्यवस्थापन, सकारात्मक परिवर्तन साथै चेतना अभिवृद्धि गराउन मद्धत पुग्ने कार्यक्रम संयोजक राममणि अधिकारीले बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी ज्ञानकुमार महतोले विभिन्न कारणले हिरासतमा रहेका थुनुवाहरूलाई यी किताबमार्फत सकारात्मक प्रभाव पार्न सकिने बताउनुभयो । `किताब पढ्दै गर्दा किताबको ज्ञानले उहाँहरूको स्वभाव र आचरणमा परिवर्तन आउनसक्छ । किताबको महत्त्व आफैंमा सकारात्मक पक्ष हो´, महतोले भन्नुभयो ।

महासंघका केन्द्रीय उपाध्यक्ष सरोज मास्केले स्थापना दिवसका अवसरमा जिल्ला प्रहरी कार्यालय चितवनलाई योसमेत गरेर तीन पटकसम्म किताब उपलब्ध गराइएको बताउनु भयो । कथा, कविता, उपन्यास, निबन्ध, नियात्रा, जीवनी, सकारात्मक चिन्तन, धार्मिक, इतिहास, शैक्षिक विषयमा लेखिएका विभिन्न विधाका किताबहरू जिल्लाका व्यवसायीहरूबाट सङ्कलन गरेर जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा दिइएको उपाध्यक्ष वीरबहादुर न्यौपानेले बताउनुभयो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट