काठमाडौँ, २० मंसिर ।
नेपाली तथा भोजपुरी फिल्महरूमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल समिता गिरीले नेपालमै पहिलो पटक कर्पोरेल शैलीको सौन्दर्य व्यवसायको थालनी गरेकी छिन् ।
कलाकार गिरीकी आमा तारादेवी गिरी तथा श्यामकुमार गिरीसहित केही सेलिब्रेटीहरुले उक्त होम सलूनको कार्यालयको रिबन काटेर समुद्घाटन गरेका हुन् ।
काठमाडौंको कमलपोखरीमा केही दिन अघिदेखि सञ्चालनमा आएको ‘सलोन टाइम बाई आक्स मि मेडम’ मार्फत अभिनेत्री गिरीले अहिलेलाई काठमाडौं उपत्यका भित्र सेवा दिने उदेश्यले यो नौलो व्यवसायको थालनी गरेकी हुन् ।
काठमाडौंमा आफूले चाहेको बेला पार्लर अथवा सलूनको सेवा पाउनबाट वञ्चित दिदीबहिनीहरूलाई लक्षित गर्दै उनीहरूको घरमै अथवा तोकिएको स्थानमै गएर सौन्दर्यसम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराउने उद्देश्यले यो व्यवसायको थालनी गरेको अभिनेत्री गिरीको भनाइ छ ।
अभिनेत्री गिरीले भारतको लोकप्रिय सलोन टाइमको फ्रेन्चाइजीको रुपमा काठमाडौंबाट यो व्यवसायको थालनी गरेको बताउँछिन् । कमलपोखरीको कृष्ण पाउरोटीनजिकै स्थापना गरिएको ‘सलोन टाइम बाई आक्स मि मेडम’ले सेवाग्राहीकै ठाउँमा गएर व्युटी पार्लरसम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराउने ‘लग्जरी होम सलून’ को रूपमा काम गर्न थालेको उनले बताइन् ।
‘टाइम फर पाम्परिङ योर सेल्फ’ भन्ने नारासहित कलाकार गिरीले काठमाडौं उपत्यकाका लागि ‘लक्जरी सलून एट होम’ को अवधारणा अनुसार यो सेवाको थालनी गरेकी हुन् ।





