मकवानपुर, १५ मङ्सिर ।
भोलि मंसिर १६ गते आइतबार हुने स्थानीय तह उपनिर्वाचन अन्तर्गत ४१ पदका लागि हुने मतदानका लागि मतदान स्थल र मतदान केन्द्र निर्माणको तयारी सकिएकाे आयोगले जनाएकाे छ ।
यसैगरी मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१२ मा हुने वडाध्यक्ष पदको निर्वाचनको तयारी पूरा भएको छ । हेटौंडा–१२ मा एक वडाध्यक्ष पदका लागि आइतबार बिहान ७ बजेबाट मतदान हुनेछ ।
उपनिर्वाचनका लागि मतदान अधिकृत, सहायक अधिकृत र अन्य कर्मचारी तयारी अवस्थामा रहेकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।
मतदान स्थलमा मतपत्र र मतपेटिका तथा अन्य सामग्रीहरू पुर्याइसकेको छ भने मतदानको लागि सर्वदलीय बैठकले आवश्यक निर्देशनहरू समेत दिएकाे छ ।
८ हजार मतदाता, २ मतदान स्थल
हेटौंडा–१२ कुल ८ हजार ५३ मतदाता रहेकाे छन् । ती मध्ये ४ हजार ४२८ जना पुरुष र ३ हजार ६२५ जना महिला र एक अन्य मतदाता रहेकाे प्रदेश निर्वाचन कार्यालय हेंटौडाले जनाएकाे छ । २०७९ निर्वाचन भन्दा यो उपनिर्वाचनमा १ हजार ५८८ मतदाता थपिएका छन् ।
वडामा निर्वाचनको लागि २ वटा मतदान स्थल तोकिएको छ । प्रतिभा आधारभूत विद्यालय सिक्रेनी र विष्णुज्योति आधारभूत विद्यालय भोर्लेलाई मतदान स्थल कायम गरिएको छ । ५ वटा मतदान केन्द्र रहेको प्रतिभा आविमा ४ हजार ४२८ मतदाता र ४ वटा मतदान केन्द्र रहेकाे विष्णज्योतिमा ३ हजार ६२५ मतदाता रहेकाे प्रदेश निर्वाचन कार्यालय हेटौंडाले जनाएकाे छ ।
प्रदेश निर्वाचन कार्यालय प्रमुख हरिप्रसाद ढकालका अनुसार उपनिर्वाचनका लागि ४५ जना कर्मचारी परिचालन गरिएको छ । १ निर्वाचन केन्द्र बराबर ५/५ जना कर्मचारी र १/१ जना स्थानीय स्वयंसेवक रहने व्यवस्था रहेको उनले जानकारी दिए ।
सुरक्षाकर्मी परिचालन
निर्वाचनका लागि जिल्ला सुरक्षा समितिले सुरक्षाकर्मी परिचालन गरेको छ । प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलवालले स्थलगत रुपमा गएर सुरक्षा व्यवस्था चुस्त पारिएको बताए । संख्यात्मक रुपमा ठुलो मात्रामा सुरक्षाकर्मी परिचालन गरेर निर्वाचनलाई भयरहित बनाउने काम भइरहेको उनले बताए ।
मतदान स्थल, मतदाता, उम्मेदवारको सुरक्षालाई मध्यनजर गरेर सुरक्षाकर्मी परिचालन गरिएको उनले जानकारी दिए । ‘४ वटा सुरक्षा निकायलाई परिचालन गरी निर्वाचनलाई भयरहित बनाउने काम भइरहेको छ’ उनले बताए । वडाको हरेक नाकामा प्रहरी परिचालन गरिएको छ भने पट्रोलिङमार्फत् वडाको सुरक्षाको व्यवस्था गरिएको बताइएकाे छ ।
मतगणना हेटौंडाको सिद्धार्थ माविमा गरिने
निर्वाचनपछि मतगणना कार्य हेटौंडा बजार क्षेत्रमा गरिने भएको छ । सुरक्षाका दृष्टी बजार क्षेत्रमा मतगणना गर्न लागिएकाे बताइएकाे छ । मतगणना कार्य हेटौंडा–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयको सभा हलमा गरिने तय गरिएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरले मतगणना स्थल सिद्धार्थ माध्यमिक विद्यालयलाई तोकेको हो । मतदान केन्द्रमा मतदान सम्पन्न भए लगत्तै मतपेटिका सङ्कलन गरी सिद्धार्थ माविमा ल्याइने र मतपेटिका प्राप्त भएपछि सर्वदलीय बैठक बसेर मतगणना कार्यको समय तय गरिने छ ।
हेटौंडा–१२ को एक वडाध्यक्ष पदका लागि १२ जना उम्मेदवार चुनावी मैदानमा छन् । १२ मध्ये राजनैतिक दलका तर्फबाट ९ जना र स्वतन्त्र ३ जना छन् । पार्टीका तर्फबाट नेकपा एमालेका राजेश नगरकोटी, कांग्रेसका अर्जुनप्रसाद तिवारी, माओवादी केन्द्रका रविकुमार प्रधान, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का आशावीर बल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रेमबहादुर भोलन, जनता समाजवादी पार्टी (जसपा) का छविलाल वाइबा, मंगोल नेशनल अर्गनाइजेशकी दीपा लामा, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) की फूलमाया तितुङ र नेकपा (एकीकृत समाजवादी)का बलराम बल उम्मेदवार रहेका छन् । यसैगरी स्वतन्त्रबाट अर्जुन घलान, गीताकुमारी नेवार र छत्रप्रकाश अधिकारी चुनावी मैदानमा रहेका छन् ।





