स्थानीयद्वारा चौधरी उद्योग ग्राममा तालाबन्दी

देवचुली, १० मंसिर ।
देवचुली नगरपालिका- २ दुम्कौलीमा रहेको चौधरी उद्योग ग्राममा स्थानीयले तालाबन्दी गरेका छन् । चौधरी उद्योगद्वारा अत्यधिक प्रदुषण फैलाएको भन्दै स्थानीयले उद्योगको मुल गेटमा तालाबन्दी गर्दै आन्दोलनमा उत्रिएका हुन् । चारदिन अघिदेखि आन्दोलनरत स्थानीयबासीले सोमबार पत्रकार सम्मेलन गर्दै उद्योगलाई प्रदुषण नियन्त्रण गर्नका लागि दबाब दिन उद्योगको दुवै गेटमा तालाबन्दी गरेको जनाएका छन् ।

वातावरण प्रदुषण नियन्त्रण संघर्ष समितिका संयोजक ठाकुरप्रसाद शर्माका अनुसार चौधरी उद्योगले स्थानीयहरुको स्वास्थ्यको कुनै प्रवाह नगरी भुसे बोइलरबाट धुलो र धुवाँ उडाएको बताए । स्थानीयले लगाएको खेतीबारी, धोएर सुकाएका लुगा साथै उद्योगबाट निस्केको कालो धुलो आँखामा समेत पर्ने र यसले अप्रेसन नै गर्नुपर्ने अवस्था समेत सृजना भएको उनले बताए । जनताको स्वास्थ्यसम्बन्धी अधिकारका लागि उद्योगले कुनै वास्ता नगरेपछी स्थानीयले पहिलो चरणको शान्तिपूर्ण विरोध अन्तरगत उद्योगको पूर्वतर्फ रहेको गेटमा चारदिन अघिबाट धर्ना बसेको र उद्योग प्रशासनले कुनै वास्ता नगरेपछी पुर्वी गेट र मुख्य गेट बन्द गर्ने निर्णयमा पुगेको उनको भनाई छ ।

स्थानीयले भुसे ब्वाईलर तुरुन्तै रोकेर मर्मत गर्नुपर्ने, उद्योगबाट हटाउन सहमति भएको पुरानो ब्वाईलर भत्काएर हटाउनपर्ने, वैकल्पिक अर्को नयाँ ब्वाईलर बनाउनुपर्ने, बस्तीका नजिक प्लास्टिक पोल्न बन्द गर्नुपर्ने, उद्योगबाट निस्कने दुर्गन्धित पानी प्रशोधन गर्ने प्लान्टको क्षमता बढाउनुपर्ने, ठूलो इटिपी प्लान्टको नबन्दासम्म चौधरीको जंगल क्षेत्रमा ठूलो खाडल खनेर थेग्र्याउनुपर्ने, खरानी र प्रदुषित पानीबाट पीडितलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्नेलगायतका मागहरु राखेर उनीहरू आन्दोलनमा उत्रिएका छन् । उद्योगले प्रदुषण नियन्त्रणका लागि प्रभावकारी कदम नचालेमा ५ दिनपछि थप कडा विरोधका कार्यक्रम गरिने स्थानीयले बताएका छन् ।

देवचुली नगरपालिकाका वडा नम्बर २ का अध्यक्ष शरद घिमिरेले उद्योगले सधैँ स्थानीयलाई झुक्याउने काम गरिरहेको बताए । प्रदुषण नियन्त्रणका लागि उद्योग प्रशासनले पटकपटक प्रतिबद्धता जनाए पनि केही काम नगरेको उनले बताए । उद्योगले स्थानीयको स्वास्थ्यमाथि खेलवाड गरिएको र व्यवसायिक सामाजिक जिम्मेवारीको बजेट कानुनले निर्दिष्ट गरे अनुसार पारदर्शी तवरबाट कार्यान्वयन नभएको समेत उनले बताए ।

स्थानीयले उद्योगको मुख्य गेटमा तालाबन्दी गरेपछी विभिन्न नारासहितका प्लेकार्ड लिएर धर्नामा बसेका छन् । प्रदुषण नियन्त्रण नहुँदासम्म आन्दोलन नरोकिने वातावरण प्रदुषण नियन्त्रण संघर्ष समितिले जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट