मकवानपुर, ५ मङ्सिर ।
१६ मंसिरमा हुने उपनिर्वाचनका लागि बागमती प्रदेशमा एकीकृत सुरक्षा समन्वय केन्द्र निर्माण गर्ने भएकाे छ । प्रदेश सुरक्षा समितिको बैठकले उक्त समिति निर्माण गर्ने निर्णय गरेकाे हाे ।
प्रदेश राजधानी हेटौंडास्थित आन्तरिक मामिला तथा कानुनमन्त्रालयमा भएको समितिको बैठकले उपनिर्वाचन हुने प्रदेशका चार वटा जिल्लालाई समेटेर एकीकृत सुरक्षा समन्वय केन्द्र बनाउने निर्णय गरेको मन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।
१६ मंसिरमा हेटौंडा उपमहानगरपालिकाकाे वडा नम्बर १२ का साथै किर्तिपुर नगरपालिकाको नगर प्रमुखसहित १ र ४ नम्बर वडाको वडा अध्यक्ष, काठमाडौं उपमहानगरपालिका–१६ मा वडा अध्यक्ष, दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष, नुवाकोटको ककनी गाउँपालिकाको २ नम्बर वडाको वडा अध्यक्ष चयनका लागि उपनिर्वाचन हुँदैछ । उपनिर्वाचन हुने जिल्लाको शान्ति सुरक्षाको रिपोर्टिङलाई एकद्वार प्रणालीबाट व्यवस्थित गर्दै चुस्तदुरुस्त सुरक्षा व्यवस्थापनका लागि एकीकृत सुरक्षा केन्द्रबाट काम गरिने लक्ष्य लिइएको मन्त्री लामिछानेले बताए ।
केन्द्रको संयोजन मन्त्री लामिछानेले गर्नेछन् । केन्द्रको सम्पर्क कार्यालय आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा रहने छ । यसैगरी, प्रदेश सुरक्षा समितिको बैठकमा प्रदेशका सुरक्षा निकायका प्रमुखबाट प्राप्त प्रदेशको शान्ति सुरक्षाको सामान्वय अवस्थामाथि समीक्षा भएको छ ।
उपनिर्वाचनलाई सुरक्षित, निष्पक्ष, भयरहित वातावरणमा सञ्चालन गर्न जिल्ला सुरक्षा समितिहरुसँग भौतिक तथा विधुतिय माध्यमबाट नियमित सम्पर्कसहित आवश्यक सहयोग आदानप्रदान गर्ने, जिल्ला सुरक्षा समितिहरुसँग सहकार्य गरी आवश्यकताको आधारमा स्थलगत निरीक्षण तथा अनुगमन गर्ने, उपनिर्वाचनमा सेना परिचालन गर्ने संघीय सरकारको निर्णयअनुसार सुरक्षाको लागि आवश्यक कार्य गर्ने निर्णय भएको मन्त्री लामिछानेले जानकारी दिए ।





