असोज आपत्ति (कविता)

आश्विन मास अविरल वर्षा देशभर फैलियो
पहिरो बाढी बढेर आयो धरती मैलियो
घोप्टियो मेघ धरती ढाक्यो सागर बनेर
चटक्क चुँडाई लगेर छाड्यो मनमुटु छेडेर ।१।

डाँडा र काँडा सँगसँगै बगे सडक भासिए
भरोसा अनि आशाका सुन्दर सपना मासिए
रित्तियो काख सिद्धियो साथ विपत्ति आएर
आँसुका भेलमा चुर्लुम्मै डुबे विरह गाएर ।२।

हे दैव यस्तो के देख्नु पर्‍याे जनजनको विचल्ली
दिन र रात तीन दिन बित्दा छोड्दैन नहल्ली
न त छ निद्रा न त भोक सर्वस्व लुट्यो नि
चिरियो छाती चुँडियो मुटु आँसु सब सुक्यो नि ।३।

प्रकृति तिमी किन हो कुन्नि रिसायौ यसरी ?
जीवन लीला चुँडेर लाँदा सन्तोष कसरी ?
अकालमा जीवन सखाप पार्न कसरी सक्यौ नि
निष्ठुर बनी मृत्युवाण प्रहार कसरी गर्‍याै नि ।४।

क्षत र विक्षत शरीर बन्यो पुरिए जनहरु
आँसुको भेलमा चुर्लुम्मै डुबे आत्मीय मनहरु
अनेकौँ विन्ती हार र गुहार क्यै पनि सुनेन
बलात चुँडी जीवन हर्यो पीडा क्यै बुझेन ।५।

नदी र खोला सडक छेउ घरबास नराखौँ
प्रकृति रक्षा गरेर जनले जीवन जोगाऔँ
आकाश छानो सिरानी सडक बनाई बस्नेलाई
उद्धार गरौ जनजन मिली हात यी फैलाई ।६।

सत्ताको स्वाद चाखेर कहिल्यै तृप्त यी हुँदैनन्
जनजनका पीडा दुःख र कष्ट शासक बुझ्दैनन्
विपत्ति क्षण नदिई साथ निर्दयी नबन
आफैँले खनी आफैँ नै पर्ने खाडल नखन ।७।

धैर्यको साथ लिएर सब गरौँ न सामना
विपत्ति यस्तो कदापि जनलाई नपरोस् कामना
काँधमा काँध साथमा साथ मिलाई जुटौँ न
शोकमा साथ दिनलाई सब आज नै उठौँ न ।८।

भरतपुर-७, कृष्णपुर
(कवि अर्याल पोलर स्टार स्कुल भरतपुर-८ का प्रधानाध्यापक हुनुहुन्छ ।)

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट