मकवानपुर, ६ साउन ।
मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नयाँ समीकरण अनुसार सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने घोषणा गरेका छन् । आइतबार बसेको प्रदेशसभा बैठकमा आफ्ना धारणा राख्दै सो घोषणा गरेका हुन् ।
मुख्यमन्त्री जम्कट्टेलले नयाँ राजनीतिक संस्कार विकास गर्न कांग्रेस एमालेको सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने निर्णय गरेको बताए । उनले रेकर्डका लागि संसद् बैठक माग गरेर आफ्नो धारणा राखेको जानकारी दिए ।
सत्ता समीकरण अनुसार दुई ठुला दलले सरकार निर्माणको तयारी गरेकाले विश्वासको मत प्राप्त हुने अवस्था नरहेकाले मार्ग प्रशस्त गर्ने उनको भनाई थियो । ‘माओवादी केन्द्र सशक्त र रचनात्मक प्रतिपक्षको भूमिकामा रहने छ’ उनले भने माओवादीले परिपक्व र संस्कारयुक्त प्रतिपक्षको भूमिका निर्वाह गर्छ ।’
मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिन प्रदेश सभाको आव्हान गरे पनि आफ्ना भनाईलाई सभा समक्ष राख्दै नयाँ सरकार घोषणाको लागि मार्ग प्रसस्त गर्न राजीनामा दिने सभालाई जानकारी गराएका हुन् । उनको घोषणा संगै प्रदेशसभाको आइतबारको लागि तय गरिएको सम्पूर्ण कार्यसूची हटाइएको प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले जानकारी दिए । प्रदेश सभाको अर्को बैठक अर्को सूचना नभएसम्मको लागि स्थगित गरिएको उनले जानकारी दिए ।
मुख्यमन्त्री जम्कट्टेलले आइतबार नै प्रदेश प्रमुख समक्ष राजीनामा बुझाउने बताइएको छ । त्यसपछि नयाँ सरकार गठनको लागि प्रदेश प्रमुखबाट आव्हान हुनेछ ।
बागमतीमा नेपाली काग्रेसले पहिलो पटक सरकारको नेतृत्व गर्ने अवसर पाउँदै छ । केन्द्रीयस्तरमा अन्यथा निर्णय नभए काग्रेस संसदीय दलका नेता बहादुरसिं लामा मुख्यमन्त्री नियुक्त हुनेछन् ।





