भरतपुर, ५ असार ।
सुखी समाज निर्माणमा मिडियाको भूमिकाबारे बुधबार नारायणगढमा बहस गरिएको छ । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र नारायणगढ र ब्रह्माकुमारी इश्वरीय विश्वविद्यालय माउण्ट आबुको मिडिया विभागले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा यस्तो बहस गरिएको हो ।
ब्रह्माकुमारी राजयोग सेवा केन्द्र प्रमुख ब्रह्माकुमारी लक्ष्मी दिदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सेवा केन्द्रको मिडिया विभाग संयोजक ब्रह्माकुमार नवराजले स्वागत मन्तव्य व्यक्त गर्दै पत्रकारिता सत्यको जगमा उभिनु पर्ने बताए । माउण्ट आबु भारतबाट आएका ब्रह्माकुमार डा. सान्तनुले भौतिक सुखको चमकदमकले मानिसलाई खुसी दिन नसक्ने बताए ।
कार्यक्रम संयोजक ब्रह्माकुमार अर्जुनबाट सहजीकरण गरिएको कार्यक्रममा ब्रह्माकुमार राजु घले, ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको मिडिया विभाग राष्ट्रिय संयोजक ब्रह्माकुमारी सरला, पत्रकारहरु डा. दिनदयाल मित्तल, कोमलचन्द्र भगत, नेपाल पत्रकार महासंघ केन्द्रीय समिति सचिव सिर्जना अर्याल, गण्डकी प्रदेश अध्यक्ष नारायण शर्मालगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा चितवनका पुराना पत्रकार गणशेखर शर्मालाई सम्मानपत्रसहित सम्मानित गरिएको थियो । कार्यक्रममा उपस्थित सबै पत्रकारलाई मायाको चिनोस्वरुप पुस्तिका र कलम दिइएको थियो । कार्यक्रममा ब्रह्माकुमारी सुनिताले सहभागीलाई राजयोगको अभ्यास गराएकी थिइन् ।





