चितवन, ४ असार
“ईन्टरनेशल कन्फ्रेन्स अन ईकोलोजिकल ईम्प्याक्ट अन एग्रिकल्चर, बिजनेश एण्ड टेक्नोलोजी” विषयक दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन मंगलदेखि रामपुरमा सुरु भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयको अनुसन्धान प्रसार निर्देशनालय आयोजना गरेको सम्मेलनमा स्वदेशी तथा विदेशी विज्ञ सहभागी भएका छन् ।
कार्यक्रम उद्घाटनका अवसरमा सहभागी स्वदेशी तथा विदेशी विज्ञहरुले मौसम परिवर्तनको अनुकूल हुने गरी कृषिको विकास गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरुले मौसम परिवर्तन कृषि क्षेत्रको विकासमा चुनौती रहेकोमा जोड दिए ।
सम्मेलनमा सहभागीहरुले हिउँ पग्लिंदै जाँदा भूक्षय र पानीको अभाव हुने समस्या बढ्दै गएको भन्दै यससँगै जुध्न सक्ने गरी कृषि र प्रविधिको विकास गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा.देवराज अधिकारीले मौसम परिवर्तनको चुनौतीलाई सम्बोधन गर्ने गरी अघि बढ्नु पर्ने बताए । उनले भने, “हिमाल पग्लिँदै जानु, भूक्षय हुनु जस्ता कारणले अर्थतन्त्रमा ठूलो प्रभाव पारेको छ ।” उनले नेपालका जलविद्युत हिमालबाट बगेका नदीहरुमा निर्भर रहेको भन्दै त्यसको असर विद्युत उत्पादन हुँदै अर्थतन्त्रमा पर्ने बताए ।
डा. अधिकारीले विश्वविद्यालयहरुले यस्ता समस्याहरुका बारेमा अध्ययन अनुसन्धान गरेर समाधानको बाटो पहिल्याउनु पर्ने बताए । उनले भने, “यस्ता कार्यक्रममा विश्वविद्यालय अनुदान आयोग सहयोग गर्न तयार छ ।”
सो अवसरमा राष्ट्रिय योजना आयोगका सदस्य डा.रमेशचन्द्र पौडेलले सान्दर्भिक विषयमाथि छलफल भएको भन्दै प्रकृति र विज्ञानमा आधारित भएर अघि बढ्नुपर्ने बताए । नेपालको शिक्षा नीतिमा परिवर्तन गरेर ७० प्रतिशत विद्यार्थीलाई प्राविधिक र ‘भोकेशनल’ शिक्षा दिने बनाउनु पर्ने बताए ।
कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु) का उपकुलपति प्रा.डा.पुष्यप्रसाद रेग्मीले विश्वविद्यालयका विद्यार्थीहरुलाई थप अनुसन्धानका लागि सहयोगको खाँचो औंल्याए ।
कार्यक्रममा एएफयु सेवा आयोगका अध्यक्ष प्रा.डा.कल्याणी मिश्र त्रिपाठी, विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा.शारदा थपलिया, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्र, डा.गणेशराज जोशी, गण्डकी विश्वविद्यालयका उपकुलपति प्रा.डा.नवराज देवकोटा लगायतले बोलेका थिए ।
यसैगरी एएफयुका डिनहरु अर्जुन श्रेष्ठ, होमबहादुर बस्नेत, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, डा.रामहरि तिमिल्सिना, महात्मागान्धी चित्रकोट ग्रामोदय विश्वविद्यालयका अध्यक्ष प्रा.डा. डिपि राई लगायतले विषयवस्तुमाथि प्रकाश पारेका थिए ।
दुई दिनसम्म चल्ने सम्मेलनमा नेपाल, भारत, अमेरिका, इन्डोनेसिया, चीन र अष्ट्रेलियाका बिज्ञ, प्राध्यापक र विद्यार्थीहरुको सहभागिता रहेको छ । भारतका बिभिन्न विश्वविद्यालय र संस्थाबाट एक सय जना प्रतिनिधि सम्मेलनमा सहभागी भएको एएफयुका निर्देशनालयका अनुसन्धान निर्देशक डा. ऋषिराम कट्टेलले जानकारी दिए ।
अमेरिका, इन्डोनेसिया, चीन, अष्ट्रेलियाबाट समेत विज्ञ, प्रध्यापक र विद्यार्थीहरु उपस्थित भएर कार्यपत्र प्रस्तुत एवं छलफल हुँदैछ । एक सयभन्दा बढी विभिन्न बिषयका कार्यपत्र प्रस्तुतीकरण र समूहगत छलफल गरिने कट्टेलले बताए ।
कार्यक्रमलाई भरतपुर महानगरपालिका, कृषि विकास बैंक, ग्लोबल आईएमई बैंक, युएसएड लगायतका संघ संस्थाले सहयोग गरेका छन् भने विदेशी विश्वविद्यालयहरुले पनि सहकार्य गरेका छन् । कार्यक्रमकै अवसरमा दुई वटा पुस्तक समेत विमोचन गरिएको छ ।





