मकवानपुर, २ असार ।
हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि कुल २ अर्ब ४३ करोड ८९ लाख ७१ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।
आइतबार बसेको १५ औं नगरसभा बैठकमा हेटौंडाका उपप्रमुख राजेश बानियाँले चालु आर्थिक वर्षको तुलनामा ४६ करोड ७२ लाख २९ हजार रुपैयाँ अर्थात १६.०७ प्रतिशत कम बजेट आगामी आर्थिक वर्षका लागि प्रस्ताव गरेका छन् । उपप्रमुख बानियाँले राष्ट्रिय अर्थतन्त्रमा देखिएको प्रतिकुलता, संघ र प्रदेशबाट भएको घट्दो बजेट सीमाका कारण आगामी आर्थिक वर्षको बजेटको आकार घटाइएको बताए ।
आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये संघीय सरकारको अनुदानबाट १ अर्ब १६ करोड ५३ लाख, आन्तरिक स्रोतबाट ५३ करोड २७ लाख ९५ हजार, राजस्व बाँडफाँडबाट ६१ करोड ६५ लाख तथा प्रदेश सरकारको विभिन्न अनुदानबाट ११ करोड १७ लाख रुपैयाँ रहेका छन् ।
उपमहानगरपालिकाले पूर्वाधार क्षेत्र विकासमा पर्ने सडक, ऊर्जा, बत्ती, जलस्रोत, पर्यटन, भवन तथा आवासतर्फ ८८ करोड ८६ लाख ९९ हजार रुपैयाँ, आर्थिक विकासतर्फ ७ करोड ५६ लाख, सामाजिक विकासतर्फ ९३ करोड १९ लाख, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ३ करोड १२ लाख, कार्यालय सञ्चालन, प्रशासनिक खर्च एवं साँवा व्याज भुक्तानीका लागि ४० करोड ६२ लाख र सुशासन तथा संस्थागत विकासतर्फ २ करोड ५१ लाख रुपैयाँ विनियोजन गरेको छ ।
उपमहानगरपालिकाले हेटौंडा-१० मा निर्माणाधीन एकीकृत बसपार्क तथा टर्मिनल भवन निर्माण सम्पन्न गरी आगामी वर्षबाट सञ्चालन गर्न ६ करोड रुपैयाँ र सहकारी सडक मर्मतका लागि १ करोड ७० लाख रुपैयाँ विनियोजन गरेको छ। विभिन्न पूर्वाधार आकस्मिक मर्मतका लागि १ करोड ५० लाख तथा पदमपोखरी मुख्य सडक विस्तारका लागि ७ करोड रुपैयाँ छुट्याइएको छ ।
आगामी आर्थिक वर्षमा जिम्मेवारी सर्ने योजनाको भुक्तानीका लागि १७ करोड, खानेपानीको न्यून महसुल भुक्तानीका लागि २ करोड ८ लाख, नागस्वती फुटबल स्टेडियम निर्माणका लागि १ करोड ७२ लाख र हेटौंडा चक्रपथअन्तर्गत १५, १६ र १७ वडाका लागि २ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
नगरसभामा नगर प्रमुख मीना लामाले प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को हेटौंडा उपमहानगरको नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित भएको छ ।





