भरतपुर, २ असार ।
भरतपुर महानगरपालिका भरतपुर महानगर प्रज्ञा–प्रतिष्ठानको तेस्रो प्राज्ञसभा बैठक महानगरपालिका सभाहलमा सम्पन्न भएको छ । भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानका कुलपति तथा नगर प्रमुख रेनु दाहालको अध्यक्षतामा सम्पन्न सभाले चालु आ.व.मा सम्पन्न भएका प्रगति प्रतिवेदन अनुमोदन गर्दै आगामी दिनका कार्यक्रमहरुबारे छलफल गरी निर्णय लिएको छ ।
सभाको भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानका कुलपति तथा नगर प्रमुख रेनु दाहालले जल सिञ्चन गरी उद्घाटन गरिन् । सभामा उपप्रमुख चित्रसेन अधिकारी, प्रतिष्ठानका उपकुलपति इन्द्रप्रसाद रेग्मी, महापालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत उपेन्द्रराज पौडेल, १० नं. वडाका अध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक परमेश्वर खनाल, का.पा. सदस्य विष्णुबहादुर भुजेल, सिर्जना अधिकारी, शिक्षा निर्देशक सुवासचन्द्र आचार्य, प्राज्ञ सभा सदस्यहरु गरी ४५ जनाको सहभागिता रहेको थियो ।
प्रज्ञा परिषद तथा प्राज्ञसभा सदस्य विष्णुदेवी तिवारी उषाले सञ्चालन गरेको कार्यक्रममा परिषद सदस्य केदारनाथ खनालले स्वागत मन्तव्य राखे । सदस्य सचिव बालकृष्ण थपलियाले प्रज्ञा प्रतिष्ठानले सम्पादन गरेका कार्यको प्रगति प्रतिवेदन र आगामी दिनमा सञ्चालन गरिने कार्यक्रमबारे प्रकाश पारे ।
सचिवको प्रतिवेदनपछि छलफलका लागि मञ्च खुला गरिएपछि डा.कर्ण बानिया, रामहरि श्रेष्ठ, पोषराज पौडेल, होमनाथ भण्डारी, प्रा.डा. नारायणप्रसाद खनाल, डा. एकनारायण पौडेल, डा. केशवराज चालिसे, शशीकिरण रेग्मी (रह शर्मा) लगायतले प्रतिवेदनमाथि टिप्पणी गरेका थिए । सभामा उठेका जिज्ञासाउपर सदस्य सचिव थपलियाले प्रष्ट पारे ।
सभाको समापन कार्यक्रममा कार्यपालिका सदस्य बिष्णुबहादुर भुजेल, प्रज्ञा प्रतिष्ठान प्राज्ञ सभा सदस्य तथा भरतपुर महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत उपेन्द्रराज पौडेल, प्रज्ञा प्रतिष्ठान प्राज्ञ सभा सदस्य तथा भरतपुर महापालिकाका उपप्रमुख चित्रसेन अधिकारी, उपकुलपति इन्द्रप्रसाद रेग्मीले मन्तव्य राखेका थिए ।
सभाको अन्त्यमा प्रज्ञा प्रतिष्ठानका कुलपति तथा प्रमुख रेनु दाहालले सिमित साधन र स्रोतले प्रज्ञाले प्रशंसनीय कार्य गरेको बताउँदै आगामी दिनमा पनि प्रज्ञा प्रतिष्ठानका कार्यक्रमलाई अझै मर्यादित र व्यवस्थित ढंगमा सञ्चालन गरिने र महानगर कला गृह सञ्चालन गर्न क्रियाशील प्रतिवद्धता व्यक्त गरिन् ।




