भरतपुर, १ असार ।
बालकुमारी कलेज नारायणगढको आयोजनामा शनिबार भरतपुरमा विद्यार्थीहरुका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा व्यवस्थापन संकाय अन्तर्गत एमबिएस इन फाइनान्सियल म्यानेजमेण्ट प्रथम वर्षमा अध्यायनरत विद्यार्थीहरुलाई अभिमुखीकरण गरिएको हो ।
कलेज संचालक समितिका अध्यक्ष प्रमोदकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रा.डा. डिल्लीराज शर्मा प्रमुख अतिथि थिए ।
३५ जना विद्यार्थीको सहभागिता रहेको उक्त कार्यक्रममा प्रमुख अतिथि शर्माले व्यवस्थापन संकाय अन्तर्गत एमबिएस इन फाइनान्सियल म्यानेजमेण्टको कोर्ष, विषयवस्तु र विद्यार्थीले गर्नुपर्ने क्रियाकलापको बारेमा जानकारी गराए ।
कलेजका प्रिन्सिपल जगदीश्वर खनाल, पूर्वप्रिन्सिपल शिवप्रसाद पौडेललगायतले बोलेका थिए । सहायक प्रिन्सिपल बाबुराम पन्थीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रम अर्का सहायक प्रिन्सिपल डा. गुणराज क्षेत्रीले संचालन गरेका थिए ।




