भरतपुर, १ असार ।
सञ्जीव पौडेलको संस्मरणात्मक कृति `छोटु´ सार्वजनिक भएको छ । प्रमुख अतिथि दिनेशकुमार थपलिया (कवि, प्रमुख निर्वाचन आयुक्त), कार्यक्रमका अध्यक्ष रमाकान्त सापकोटालगायतले कृति सार्वजनिक गरेका हुन् ।
प्रमुख अतिथि दिनेशकुमार थपलियाले साहित्य लेखनले मुलुकको समृद्धि र सामाजिक जागरणमा भूमिका खेल्ने बताए । नेताले, शिक्षकले, कर्मचारीले नदेख्ने बेथिति एकजना लेखकले देख्नसक्ने भन्दै साहित्यले लेखकलाई जीवित राख्ने बताए । ३० वर्षे जागिरे जीवनबाट अवकाश पाएर पूर्व कर्मचारी बनेका सञ्जीव पौडेल यो कृतिबाट अभूतपूर्व बनेको बताए । `लेखक कहिल्यै पूर्व हुँदैनन् । उनीहरू अभूतपूर्व हुन् । लेखक सधैँ बाँचेका हुन्छन्´, थपलियाले भने ।
कार्यक्रममा पुस्तकका सन्दर्भमा बोल्दै प्राडा कर्णबहादुर बानियाँले यो पुस्तक संस्मरण भए पनि आख्यानात्मक भएको बताए । `संस्मरण भए पनि यसमा आख्यान मिसिएको छ । जीवनी छ, वंशावली छ´ बानियाँले भने – `यो पुस्तक आख्यान, जीवनी र वंशावलीको त्रिवेणी हो । कृषि विकास बैंक र कर्मचारीको योगदानको वृतान्त पनि किताबमा छ ।´
अर्का वक्ता वासुदेव अधिकारीले लेखक पौडेलले लमजुङमा बिताएको बाल्यकाल, युवाकालमा भारतमा बिताएको जागिरे जीवन र त्यसपछि बैंकमा गरेको सेवालाई किताबमा महत्त्वका साथ समेटेको बताए । कार्यक्रममा लेखक पौडेलको चिनारी राख्दै अनिल पौडेलले सञ्जीव पौडेलको जीवनवृत्त सुनाएका थिए । भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानका उपकुलपति इन्द्र रेग्मीले शुभकामना मन्तव्य राखेका थिए भने स्रस्टा रविकिरण निर्जीवले स्वागत मन्तव्य राखेका थिए ।
लेखक पौडेलले इमानदारीपूर्वक संस्मरण लेखेको बताए । `मेरा जीवनका उकाली-ओरालीहरू छोटु मा समेटेको छु, जीवन भोगाइलाई तोडमोड नगरी दुरुस्त राखेको छु´, पौडेलले बताए ।
३० वर्ष कृषि विकास बैंकमा सेवा गरेका पौडेल हाल सोही बैंकका सञ्चालक सदस्य हुन् । कार्यक्रमलाई कवि सामना पहाडले सहजीकरण गरेकी थिइन् । सञ्जीवकी धर्मपत्नी मीना अधिकारी पौडेलले प्रकाशन गरेको पुस्तकको मूल्य ४०० रुपैयाँ छ । पुस्तकको वितरक सम्पूर्ण किताब नारायणगढ रहेको छ ।





