दक्षिण अफ्रिकासँग नेपाल १ रनले स्तब्ध

भरतपुर, १ असार ।
जारी आइसीसी ट्वेन्टी ट्वन्टी क्रिकेट विश्वकपको आफ्नो तेस्रो खेलमा नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको छ । अन्तिम तीन ओभरमा सम्हालिन नसक्दा नेपालले प्रतियोगितामा पहिलो जित दर्ता गराउनबाट चुकेको हो ।

दक्षिण अफ्रिकाले दिएको ११६ रनको लक्ष्य पछ्याउन उत्रिएको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ११४ रन मात्र बनाउन सक्यो । नेपाललाई अन्तिम बलमा जितका लागि २ रनको आवश्यकता परेको थियो । ओटनियल बार्टमानको बलमा बिट भएका गुलसन झा बाइ रन दौडने क्रममा रन आउट भएका थिए ।

१७ ओभरको समाप्तीसम्ममा नेपाल ९८-३ को बलियो अवस्थामा थियो । तब नेपाललाई जितका लागि १८ बलमा १८ रनको आवश्यकता थियो । तर १८औँ ओभरमा दीपेन्द्र सिंह ऐरी ६ र आरिफ शेख ४२ रनमा आउट भएपछि नेपालको पारी लडखडायो ।

अनिल शाहले २७ रनको पारी खेल्दा कप्तान रोहित पौडेल शून्यमा पेभिलियन फर्किए । दक्षिण अफ्रिकाका लागि तरबिज साम्सीले ४ विकेट लिए । ४ ओभरको स्पेल राखेका उनले १२ वटा डट बल फाल्दै जम्मा १९ रन खर्चिएका थिए । उनका अलावा एन्रिच नोकिया र एडियन माकरमले पनि १-१ विकेट चट्काए ।

यसअघि किंग्सटाउनमा टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको नेपालले दक्षिण अफ्रिकालाई निर्धारित २० ओभरमा ११५-७ को स्कोरमा रोकेको थियो । उसका लागि रिजा हेन्रिक्सले ४३ रनको योगदान गरे भने ट्रिस्टान स्टब्स २७ रनमा नट आउट रहे । बलिङतर्फ नेपालका कुशल भुर्तेलले ४ तथा दीपेन्द्र सिंह ऐरीले ३ विकेट लिए ।

जित पछि २ अंक प्राप्त गरेको दक्षिण अफ्रिकाको कूल ८ अंक भएको छ । ऊ यसअघि नै अन्तिम आठमा प्रवेश गरिसकेको छ । नेपालविरुद्ध जित निकाल्दै उसले आफ्नो अपराजित यात्रालाई कायम राखेको छ । यता तीन खेलबाट जम्मा १ एक बटुलेको नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । नेपालले यसअघि नेदरल्याण्डसँगको खेल गुमाएको थियो भने श्रीलंकाविरुद्धको खेल वर्षाका कारण रद्द भएको थियो । नेपालले समूहको चरणको अन्तिम खेलमा बंग्लादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट