भरतपुर, ३० जेठ ।
सनराइज इङ्ग्लिस सेकेन्डरी स्कुल, भरतपुरले यही जेठ २८ गतेदेखि ३० गतेसम्म विद्यालयकै खेलमैदामा दोस्रो सनराइज एसईई कप फुटबल २०८१ आयोजना गर्यो । उक्त खेलमा २०८० मा एसईई दिएर बसेका विद्यार्थीहरुले सहभागिता जनाएका थिए । उक्त खेलमा चितवनभित्रका १४ वटा विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
जेठ २८ गते खेलको उद्घाटन गर्दै उक्त समारोहका प्रमुख अतिथि भरतपुर महानगरपालिका वडा नम्बर ४ का कार्यवाहक वडाअध्यक्ष ठाकुरप्रसाद शर्माले परीक्षा दिएर बसेका विद्यार्थीलाई यसरी खेलमा सहभागी बनाएर विद्यालयले राम्रो गरेको तर्क राखेका थिए । उक्त कार्यक्रमको अध्यक्षता सनराइज इङ्ग्लिस स्कुलका प्राचार्य शिवकुमार बगालेले गरेका थिए भने सञ्चालन सहायक प्राचार्य भूमिराज तिवारीले गरेका थिए ।
त्यस्तैगरी जेठ ३० समापन समारोहमा प्रमुख अतिथि रहेका चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्रीकृष्ण कार्कीले जिल्लाको खेलकुदको विकासमा यस्ता खेलहरु उपयोगी हुने कुरा बताएका थिए । उक्त कार्यक्रमको सभाध्यक्ष सनराइज इङ्ग्लिस स्कुलका शिवकुमार बगाले थिए भने उद्घोषण सहायक प्राचार्य भूमिराज तिवारीले गरेका थिए ।
बिहान र बेलुका गरी सञ्चालन भएको उक्त खेलमा ब्राइटस्टार सेकेन्डरी स्कुलले उपाधि जित्न सफल भएको थियो भने वाल्मीकि शिक्षा सदन उपविजेता बनेको थियो । यसमा उपाधि जित्नेले रु. पच्चीस हजार नगद राशि र मेडल प्राप्त गरेको थियो भने उपविजेताले रु. बाह्र हजार पाँचसय नगद र मेडल प्राप्त गरेको थियो । तीन दिनसम्म चलेको उक्त खेलको उत्कृष्ट खेलाडी जानकी माविका सुजन सुनार र उत्कृष्ट गोलरक्षक ब्राइटस्टारका अनुस परियार घोषित भएका थिए ।
यसरी एसईई दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरेर गतवर्षदेखि सनराइज एसईई कप फुटबल आयोजना गर्न लागिएको कुरा विद्यालयका दश जोड दुईतर्फका कार्यक्रम संयोजक जीवलाल चालिसेले बताए । यस्ता रचनात्मक कामले विद्यार्थीहरुमा सकारात्मक भाव सञ्चार हुने, खेलप्रति थोरै भए पनि टेवा पुग्ने र विद्यार्थीहरुमा आपसी मेलमिलाप बढाउने कुरामा पनि उनको जोड रहेको थियो ।





