मकवानपुर, ३० जेठ ।
श्यामप्रसाद शर्मा स्मृति सम्मान २०८१ बाट प्रदीप ज्ञवाली ‘शीतबिन्दु’ सम्मानित हुने भएका छन् । साहित्य सङ्गम मकवानपुरले हरेक वर्ष उक्त सम्मान प्रदान गर्दै आएकाे छ ।
संगमले मंगलबार पत्रकार भेटघाटमा हेटौंडामा कार्यक्रम गरी उक्त सम्मानकाे जानकारी दिएको हो । पत्रकार भेटघाटमा संगम अध्यक्ष डीबी बर्तौलाले असार ७ गते यस वर्षकाे श्यामप्रसाद शर्मा स्मृति सम्मान साहित्यकार एवम् पूर्व मन्त्री ज्ञवालीलाई सम्मानित गर्ने बताए ।
प्रगतिशील साहित्य लेखनमा स्थापित शर्माकाे नाममा स्थापित सम्मानकाे राशी २५ हजार रुपैयाँ रहेकाे छ । यस अघि १५ हजार रहेकाे उक्त सम्मानकाे राशी यस वर्षबाट बढाएर २५ हजार रुपैयाँ बनाइएकाे बताइएकाे छ ।
कार्यक्रममा ज्ञवालीका एकल कविता वाचन हुनेछ भने उनले लेखेका गीतकाे गायन समेत हुनेछ । साहित्यकार निमेष निखिल र सुवास खनालले ज्ञवालीका कविताहरू वाचन गर्ने तथा आशाकाजी श्रेष्ठ र अजर फुयाँलले ज्ञवालीका गीतलाई गाउने छन् । यस्तै श्यामकुमार बानियाँ, पुरूषोत्तम आचार्य र हरि पौड्यालको विविध साङ्गीतिक प्रस्तुति समेत रहने सचिव मनोज पोखरेलले जानकारी दिए ।
साहित्य सङ्गमको आयोजना, भूटनदेवी माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) को सहआयोजना तथा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ को प्रबर्द्धनमा हुने सम्मान तथा साङ्गीतिक कार्यक्रममा ज्ञवालीका एकल कवितामाथि घनश्याम घिमिरेले समीक्षा गर्ने समेत पाेखरेलले बताए ।
२०१९ साल भदौ २८ गते गुल्मीको बलेटक्सार २ चौतारामा जन्मिएका ज्ञवालीले २०७३ सालमा ‘बिना सालिकका नायकहरु’ कविता कृति प्रकाशित गरेका थिए । यसअघि शीतविन्दु नामबाट साहित्य रचना गर्दै आएका ज्ञवालीले सहयात्री – २०४६ (उपन्यास), चिता जलिरहेछ – २०५१ (कविता संग्रह), आस्था, ओ मेरी प्रिया -२०५७ (कविता संग्रह), कुहिरो – २०६० (कथा संग्रह), माक्र्सवादको सिर्जनात्मक प्रयोग – (२०५८), प्रचण्डपथः विचारको केन्द्रीकरण कि भ्रष्टिकरण (२०५९), फिनिक्स पंक्षी र एमालेको पुनर्जीवन (२०६४), युवाः एक बहस (२०६६), राष्ट्रियता, पहिचान र सामाजिक रुपान्तरणः एक अर्थराजनीतिक बहस (२०७०) लगायत कृति प्रकाशित छन्।
यसैगरी १९८६ असार ६ मा ललितपुर जिल्लाको सोलिथुम (हाल मकवानपुर) मा जन्मिनु भएको श्यामप्रसाद शर्मा नेपाली राजनीति, पत्रकारिता र साहित्यमा सक्रिय थिए। शर्माले ‘सेवा’ मासिक, ‘स्वास्नी मान्छे’, ‘साहित्य सेवा सदन’ पत्रिकाको सम्पादन तथा प्रकाशन गरेका थिए । मुक्ति पुरस्कार (२०५०) र महेन्द्र प्रज्ञा पुरस्कार (२०५०) लगायत सम्मानद्वारा सम्मानित उनका निबन्धात्मक कृतिहरू “बहिनीलाई चिठ्ठी १-२ (२००८/२०१२)”, “तँ, तिमी, तपाईं, हजुर (२०१४)”, “मेरीआमा (२०२३)”, “थुनुवाको डायरी (२०३८)”, “केही साहित्यकार र साहित्य (२०४२)” प्रकाशन भएका छन् । यसैगरी म “साम्यवादी होइन (२०४०)”, “आएका केही चिठी (२०५५)”, “मेरो पत्रकार जीवन (२०६३)” लगायत कृतिहरू समेत प्रकाशन भएका थिए ।
औपचारिक रूपमा कक्षा १० सम्मको स्कुले शिक्षा प्राप्त गरेका शर्माले वीरगञ्जमा प्रगतिशील लेखक संघको स्थापना गरेका थिए । आत्मपरक, प्रयोगवादी तथा राष्ट्रवादी भावनाका सिर्जनामार्फत चिनिनु भएका शर्माको निधन २०७४ साल वैशाख २४ मा काठमाडौँमा भएको थियाे ।





