भरतपुर, २२ जेठ ।
चितवनमै विश्वस्तरीय शिक्षा प्रदान गर्दै आइरहेका भरतपुर–७, कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीमा आयोजित ‘अङ्कुरम् एसइई ओपन फुटसल कम्पिटिसन’ को उपाधि नारायणी इङ्लिस पब्लिक स्कुलले जितेको छ ।
एसइई दिएर बसेका विभिन्न विद्यालयका विद्यार्थीहरुको ३५ वटा टिम सहभागी उक्त प्रतियोगिताको फाइनलमा एसओएस बालग्राम भरतपुरलाई चार–एक गोल अन्तरले हराउँदै नारायणी इङ्लिस पब्लिक स्कुलले उपाधि आफ्नो पोल्टामा पारेको हो ।
प्रतियोगितामा विजेता नारायणीका समूह ‘ए’ का पर्वत गाहामगरले सर्वाधिक ११ गोल गरेका थिए भने उपविजेता एसओएसका दीपेश कुमाल उत्कृष्ट डिफेन्डर घोषित भएका थिए । त्यसैगरी विजेता नारायणी पब्लिकका आयुष दराई उत्कृष्ट गोलकिपर घोषित भएका थिए । विजेता टिमले ट्रफी र मेडलसँगै नगद १० हजार रुपैयाँ र उपविजेता टिमले नगद पाँच हजार पुरस्कार प्राप्त गरेका छन् ।
पौडीमा सौम्य र निश्चल विजयी
विद्यालयमा आयोजित खुला पौडी प्रतियोगितामा विजय सामुदायिक स्कुल गैँडाकोटका सौम्यध्वज जिसी प्रथम र अर्किड स्कुल भरतपुरका निश्चल के.सी. द्वितीय भएका छन् । प्रथम हुने जिसीले मेडलसँगै पाँच हजार र द्वितीय हुने के.सी.ले तीन हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।
विद्यालयले आगामी २६ गते शनिबार ‘एसइई ओपन क्विज कम्पिटिसन’ को आयोजना गर्न लागेको शिक्षक सोमनाथ खनालले जानकारी दिए ।




