भरतपुर, १४ जेठ ।
कथाकार भक्त स्याङ्तानको कथासङ्ग्रह ‘डम्फुको आत्मालाप’माथि शनिबार भरतपुरमा चर्चा गरिएको छ । सम्पूर्ण किताब नारायणगढको आयोजनामा भएको कार्यक्रममा कृतिमाथि समीक्षक रमेश प्रभातले समीक्षात्मक टिप्पणी गरेका थिए । उनले कृतिमा कहीँकतै सम्पादकीय त्रुटी रहे पनि समग्रमा कथाले सामाजिक कथा बोल्ने प्रयास गरेको बताए ।
तामाङ जाति र भाषासँग सम्बन्धित कथा भएको हुँदा कतिपय शब्दको अर्थ बुझ्न कठिन रहेको हुँदा दोस्रो संस्करण आउँदा शब्दार्थ नै समावेश गर्न उनले सुझाव दिए । ‘शब्दार्थ नै समावेश गर्न सकेको भए राम्रो हुने थियो,’ उनले भने, दोस्रो संस्करण आउँदा यी कुरालाई ध्यानमा राख्न मेरो सुझाव छ ।’
लेखक भक्त स्याङ्तानले समाजको वास्तविक घटनालाई कथामार्फत बताउने प्रयास गरिएको बताए । कथामा सांस्कृतिक पक्षलाई समेत समेट्ने प्रयास गरिएको उनले बताए । तर, पछिल्लो समय विकसित हुँदै आएको प्रविधिको उच्चतम प्रयोगले मानिसहरूलाई समाजबाट टाढा पुर्याउनुका साथै एक्लो बनाएको विषयलाई कथामा समावेश गरिएको उनको भनाइ छ ।
‘पछिल्लो समय फस्टाएको नयाँ प्रविधियुक्त बजारले समाजलाई संस्कृतिविहीन बनाउँदै लगेको छ,’ उनले भने, ‘नेपाल जस्तो सांस्कृतिक धरोहरको परिचय पाएको देशमा यस्तो अवस्था आउनु दुःखद् हो ।’ प्रविधिलाई सहज बनाउँदै लैजाँदा त्यसबाट उत्पन्न भएका नकारात्मक प्रभावले समाज कतातिर गइरहेको छ भन्ने विषय समेत उजागर हुँदै आएको उनले बताए ।
साथै, कथामा नागरिक आन्दोलनले ल्याएको परिवर्तनको विषयसमेत समावेश गरिएको लेखक स्याङ्तानले बताए । ‘आन्दोलनकै माध्यमबाट सामान्य नागरिकको चेतनास्तरमा आएको प्रभावलाई पनि कथामा समेटिएको छ,’ उनले भने ।
कार्यक्रम संवाद शैलीमा गरिएको थियो । स्रस्टा यश लामाले कथाकार स्याङ्तानसँगै समालोचक रमेश प्रभात र राजनीतिज्ञ अनुराग बनस्तमसँग तामाङ जातीको सांस्कृतिक पक्ष र तीसँग जोडिएका कथाहरू बारेमा छलफल गरेका थिए । `डम्फु तामाङ जातिको सांस्कृतिक बाजा भएकोले यसलाई जोगाउनु नै तामाङ जातिको पहिचान जोगाउनु हो´, कथाकार स्याङ्तानले भने । सङ्ग्रहमा ११ वटा कथा छन् । पुस्तक साङ्ग्रीला बुक्सले प्रकाशन गरेको हो ।




