भरतपुर, ११ वैशाख ।
सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, कर्मचारीले कुनै पनि दलको सदस्यता लिएको, कार्यकारिणी समितिमा बसेको पाइएमा पदबाट बर्खास्त गर्नू भनी एक साताअघि शिक्षामन्त्री सुमना श्रेष्ठले मन्त्रीस्तरीय निर्णय लिएपछि उनको यो कदमलाई शिक्षकहरूले पूर्ण समर्थन गरेका छन् ।
भरतपुरमा मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका केन्द्रीय कोषाध्यक्ष सूर्य बरालले शिक्षामन्त्री श्रेष्ठको कदमप्रति कुनै विरोध वा असहमति नरहेको सङ्केत गरे । ‘हामी कुनै राजनीतिक दलको भ्रातृ सङ्गठन होइनौं । राजनीतिक दलको सदस्यता लिएका पनि छैनौं’ उनले भने, ‘सङ्गठन नै खारेजी भनेको खण्डमा विरोधमा उत्रन्छौं ।’
यसैगरी अखिल नेपाल शिक्षक सङ्गठन चितवनका अध्यक्ष हिरामणि चापागाइँले शिक्षक हरू पार्टीमा लाग्न नहुने विचार व्यक्त गरे । उनले भने, ‘म पनि कुनै राजनीतिक दलमा आबध्द छैन ।’
शिक्षक महासङ्घमा विवाद
शिक्षकहरूको छाता सङ्गठन नेपाल शिक्षक महासङ्घभित्र महाधिवेशनको विवाद देखिएको छ । महासङ्घको महाधिवेशन सोमबार सुरू भई बुधबार काठमाडौंमा सम्पन्न हुन गइरहेको छ । गत शनिबार सम्पन्न चितवन जिल्ला अधिवेशन पनि विवादमा परेको छ ।
महासङ्घको एक प्रमुख घटक नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले पत्रकार सम्मेलन आयोजना गरी आफूहरूले जिल्ला अधिवेशन बहिष्कार गरेको जनाएको छ । सङ्गठनका बागमती प्रदेश समिति महासचिव पूर्ण पुरीले महासङ्घको गत माघ २९ गतेको परिपत्र अनुसार पहिले पालिकास्तरको अधिवेशन सम्पन्न गरेर जिल्ला अधिवेशन गर्नुपर्नेमा त्यसो नभएकोले आफूहरूको असहमति रहेको प्रष्ट पारे ।
सङ्गठनका जिल्ला अध्यक्ष तेजेन्द्रप्रसाद भुसालको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा भरतपुर नगर अध्यक्ष दुर्गाप्रसाद सापकोटाले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।





