`आदर्श समाज´को गैँडाकोट विशेषाङ्क लोकार्षण

नवलपुर, २ वैशाख ।
गण्डकी प्रदेशको राजधानी पोखराबाट प्रकाशन हुँदै आएको आदर्श समाज राष्ट्रिय दैनिकले आफ्नो २९औँ वार्षिकोत्सवको अवसर पारेर गैँडाकोट विशेषाङ्क लोकार्पण गरेको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–१ मा नयाँ वर्षको अवसर पारेर शनिबार शाखा कार्यालय उद्घाटन गर्दै गैँडाकोट विशेषाङ्क लोकार्पण गरिएको हो ।

पत्रिकाको प्रधान सम्पादक कृष्णप्रसाद बास्तोला, पोखरा प्रज्ञाप्रतिष्ठानका कुलपति पद्मराज ढकाल, संविधानसभा सदस्य कृष्णप्रसाद पौडेल, नेपाल पत्रकार महासङ्घकी केन्द्रीय सचिव सृजना अर्याल, नेपाल निम्बार्क वैष्णव परिषद्का केन्द्रीय अध्यक्ष आचार्य हरिशरण उपाध्यायले गैँडाकोट विशेषाङ्कको लोकार्पण गर्नुभएको हो । गैँडाकोट विशेषाङ्क लोकार्पण एवम् शाखा कार्यालय उद्घाटनका क्रममा प्रधान सम्पादक बास्तोलाले विशेषाङ्कमा गैँडाकोटका सम्भावना एवम् विकासलाई समेटिएको बताउनुभयो । पत्रिकाको प्रकाशन गैँडाकोटबाट गर्ने उद्देश्यले गैँडाकोट विशेषाङ्क प्रकाशन गरिएको बास्तोलाको भनाइ छ ।

“हामीले २०५८ देखि ६० सम्म यही गैँडाकोटबाट पत्रिकाको तराई संस्करण प्रकाशन गर्दै आएका थियौँ” उहाँले भन्नुभयो, “तत्कालीन कठिन परिस्थितिका कारण हाम्रो तराई संस्करण बन्द भयो । तर, हामी पोखराबाट निरन्तर प्रकाशनमा रह्यौँ । अब फेरि गैँडाकोटबाट हाम्रो प्रशानले निरन्तरता पाउँछ ।” कठिन परिस्थितिको सामना गर्दै पत्रिकालाई यो अवस्थासम्म ल्याएको स्मरण गर्दै प्रधान सम्पादक बास्तोलाले आदर्श समाज दैनिकलाई देशभर पु¥याउन र गैँडाकोटलाई प्राथमिकता दिन शाखा कार्यालय सञ्चालन गरेको बताउनुभयो ।

सो क्रममा पोखरा प्रज्ञाप्रतिष्ठानका कुलपति पद्मराज ढकालले पत्रिकाले २९ वर्षको इतिहास बोकेको भन्दै पत्रिकाको प्रकाशन निरन्तर हुनु गौरवको विषय भएको बताउनुभयो । अहिले असहज परिस्थितिमा समेत पत्रिकाले आफ्नो सेवालाई विस्तार गर्नु चुनौतीपूर्ण भएको भन्दै निरन्तरताको कामना गर्नुभयो । आवाज विहीनहरुको आवाज बन्दै विकास निर्माण र विकृतिको विरुद्धमा पत्रिकाले आफूलाई खरो उतार्नुपर्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा संविधानसभा सदस्य कृष्णप्रसाद पौडेलले ठूला ब्रोडसिट पेपरले समेट्न नसकेका विषयवस्तुहरुलाई पत्रिकाले समेट्दै स्थानीयको मन जितेर अगाडि बढ्नुपर्ने बताउनुभयो । गणतन्त्रको संस्थागत विकास र परिवर्तनलाई रक्षा गर्नका लागि सञ्चार माध्यमको ठूलो भूमिका रहने उल्लेख गर्दै उहाँले सञ्चार माध्यमको स्थायीत्वका लागि सरकारको भूमिका रहेको बताउनुभयो । पत्रकार महासङ्घ केन्द्रीय सदस्य सृजना अर्यालले सञ्चार माध्यमले अहिले आर्थिक चुनौतीको सामना गरिरहेको भन्दै मिडियालाई दीगो बनाउन सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।

पत्रकारिता बाँच्यो भने मात्रै मुलुकको चौतर्फी विकास हुने भएकाले सञ्चार माध्यमलाई जोगाउन तीनवटै तहका सरकार जिम्मेवार हुनुपर्ने अर्यालको भनाइ थियो । कार्यक्रममा गैँडाकोट प्रज्ञाप्रतिष्ठानका उपकुलपति गोविन्दराज विनोदी, नेपाल निम्बार्क वैष्णव परिषद्का केन्द्रीय अध्यक्ष आचार्य हरिशरण उपाध्याय, तत्कालीन गैँडाकोट गाविसका अध्यक्ष ओमप्रसाद सापकोटा, जिल्ला उद्योग वाणिज्य सङ्घ गैँडाकोटका महासचिव छवि कँडेलले पत्रिकाको निरन्तरताको कामना गर्दै स्थानीय विषयवस्तुलाई स्थान दिन आग्रह गर्नुभएको थियो ।

यसैबीच, पत्रिकाको २९औँ वर्षिकोत्सव एवम् पुनर्मिलन समारोहका अवसरमा तीन जना पत्रकारलाई सम्मानित गरिएको छ । पत्रिकाका पूर्वसहायक सम्पादकत्रय शिरोमणि बराल, सूर्यप्रकाश कँडेल र चिन्तामणि पौडेललाई सम्मान गरिएको हो । पत्रिकाको स्थापनाकालमा विशेष योगदान पुर्‍याएका भन्दै कार्यक्रममा उनीहरुलाई सम्मानपत्रसहित दोसल्ला ओडाएर सम्मानित गरिएको प्रधान सम्पादक बस्तोलाले बताउनुभयो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट