हेटौंडामा गीतकार राजेन्द्र थापा र गायिका निशा देसार सम्मानित

मकवानपुर, ३० चैत ।
भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपालले वरिष्ठ गीतकार राजेन्द्र थापा र गायिका निशा देसारलाई सम्मान गरेको छ ।

यस वर्षको १ लाख रुपैयाँ राशिको बिजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कारबाट थापा सम्मानित भएका हुन् । यस्तै २५ हजार राशिको भीम विराग युवा सङ्गीत पुरस्कार २०७९ बाट देसार सम्मानित भएकी हुन् । प्रतिष्ठानले  बिहीबार हेटौंडामा आयोजना गरेको १५ औँ संस्करणको कार्यक्रममा वरिष्ठ साहित्यकार नगेन्द्र थापाले दुबैलाई सम्मान गरेका हुन् । देसारलाई दिइएको पुरस्कारको राशि कविडाँडा साहित्य समाजका अध्यक्ष साहित्यकार एलबी क्षेत्रीले प्रायोजन गरेका हुन् ।

सम्मानपछी गीतकार थापाले आफूले देखेको भोगेको समाज, परिस्थितिलाई अक्षरमा उतारेर समाजमा सचेतना दिने गरेको बताए ।
आधुनिक सुगम संगीतमा दर्जनौ रचना दिएका थापाले नेपाली चलचित्रका गीत समेत लेखेका छन् । उनका २ वटा उपन्यास ३ वटा गजल २ वटा मुक्तक १ /१ वटा कविता, कथा र गीति संग्रह प्रकाशित छ ।

उद्यमी–व्यवसायी कन्हैयाकृष्ण श्रेष्ठले वि.सं. २०६४ मा आमा बिजुलीमाया व:न श्रेष्ठको नाममा स्थापित बिजुलीमाया व:न श्रेष्ठ अन्तर्राष्ट्रिय पुरस्कारबाट यसअघि गीत तथा सङ्गीत क्षेत्रका सशक्त व्यक्तित्वहरू अम्बर गुरूङ (२०६४), प्रेमध्वज प्रधान (२०६५), भक्तराज आचार्य (२०६६), फत्तेमान राजभण्डारी (२०६७), शान्ति ठटाल (२०६८), दीप श्रेष्ठ (२०६९), प्रकाश श्रेष्ठ (२०७०), न्हुच्छेबहादुर डङ्गोल (२०७१), मीरा राणा (२०७२), कर्म योञ्जन (२०७३), चेतन कार्की (२०७४), दावा ग्याल्मो (दीपक जंगम) र किरण प्रधान (२०७९) सम्मानित भइसकेका छन् ।

यसैगरी भीम विराग युवा सङ्गीत पुरस्कार २०७७ पोखराको हार्मोनिक समूह र २०७८ गायक शिव परियार प्रदान गरिएको छ । हरेक वर्ष यो पुरस्कारको रकम विभिन्न ब्यक्तित्वले प्रदान गर्ने गरेका छन् । देशार रेडियो नेपालको स्वर परिक्षा पास गरेकी क श्रेणीकी गायिका हुन् । उनले आधुनिक गीत गजलका अलावा नेवारी भाषामा समेत गीत गाएकी छिन् ।

प्रतिष्ठानले प्रदान गर्ने अन्य सम्मान तथा पुरस्कारहरू तुलसीमाया–शिवकुमारी सिर्जनशील नारी पुरस्कार, भीम–मथुरा बाल प्रतिभा पुरस्कार, कमला–भवानी सङ्गीत पुरस्कार, शीला नारी सङ्गीत पुरस्कार, हर्षनर बज्राचार्य स्मृती स्वर्ण पुरस्कार, विजय बानियाँ स्मृति लोक सङ्गीत पुरस्कार, चिनुकुमारी लामा स्मृति साहित्य पुरस्कार, मंगलादेवी श्रेष्ठ स्मृति स्वास्थ्य सेवा पुरस्कार, अजित सेन गुप्ता स्मृति भिन्न क्षमता पुरस्कार रहेको प्रतिष्ठानले जनाएको छ ।

२०५९ भदौ ७ गते स्थापना भएको प्रतिष्ठानले नेपाली सङ्गीत, साहित्य र कला क्षेत्रको उन्नयनमा देश तथा विदेशमा रहेर नेपाली वाङ्मय क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आउनु भएका सर्जक, स्रष्टाहरूलाई सम्मान एवम् पुरस्कृत गर्दै आइरहेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट