सौराहा, १६ चैत
सौराहामा रहेको होटल आइकावा इन प्रालिले चारतारे होटलको मान्यता पाएको छ । मान्यता पाएसँगै होटल आइकावा सौराहाकै पहिलो चारतारे होटल बनेको छ ।

नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले रत्ननगर नगरपालिका वडा नम्बर ६ मा रहेको होटल आइकावा इन प्रालिलाई पर्यटन ऐन २०३५ अनुसार चार तारा स्तरको होटलमा वर्गीकरण गरेको हो ।
पर्यटन विभागले होटलको स्थलगत अनुगमन तथा निरीक्षण गरी स्तरोन्नति गरेको हो । ‘बागमती प्रदेशमा सञ्चालित होटल आइकावा इनलाई पर्यटन ऐन २०३५ अनुसार चार तारा स्तरको होटलमा स्तर वर्गीकरण गरी इजाजतपत्र दिइएको छ’ पर्यटन विभागको पत्रमा भनिएको छ ।

पर्यटन विभागले दिएको जानकारी अनुसार नेपालमा चारतारे मान्यता पाएका होटलमध्ये आइकावा ३६ औँ होटल हो । चितवनमा चारतारे मान्यताको होटलको संख्या २ पुगेको छ । भरतपुरमा रहेको होटल सिराइचुलीले जिल्लामै पहिलोपटक चारतारे होटलको मान्यता पाएको थियो ।

चारतारेको मान्यता पाएसँगै होटलका प्रबन्ध निर्देशक घनश्याम शर्मा अर्याल उत्साहित देखिएका छन् । सञ्चालनमा आएको एक वर्षमै चार ताराको मान्यता पाउनु आफ्नो लागि ठूलो उपलब्धि भएको अर्यालले बताए । ‘हामीले सौराहामा आउने पर्यटकलाई फरक ढंगले स्वागत गर्ने र फरक ढंगले सेवा दिने अभियान थालेका थियौँ, यसमा हामी सफल देखियौँ’, प्रबन्ध निर्देशक अर्यालले भने, ‘हाम्रो लगानी, हाम्रा कर्मचारीको सेवा, पाहुनाहरूको सन्तुष्टिले हामीलाई यो सफलता मिलेको हो । हामी अझै उत्साहित बनेका छौँ, अहिलेको भन्दा पनि राम्रो सेवा दिने हाम्रो अभियान यथावत छ ।’ 
अर्यालका अनुसार सौराहामै पहिलोपटक साउना र स्टिम बाथ आइकावाले सञ्चालनमा ल्याएको छ । यहाँ रुम गेस्टका लागि २४ घण्टा नै रेस्टुरेन्ट, बार र क्याफे खुला राखिएको छ । आइकावामा डिलक्स, सुपर डिलक्स, एक्जिक्युटिभ र प्रेसिडेन्सिएल सुइट गरी ४ श्रेणीका रुमहरू छन् । आइकावाको आरामदायी बसाइ र उत्कृष्ट आतिथ्यलाई विदेशी पर्यटकले बेस्सरी रुचाएको अर्यालले बताए ।
नेपाली पर्यटकले पनि सुइट रुमलाई रुचाएको अर्यालको अनुभव छ । होटलमा कार्यक्रम तथा मिटिङका लागि तीन वटा हल छन् । २५ जना, ४५ जना र १५० जना क्षमताका आकर्षक कोठा बनाइएको अर्यालले बताए ।
आइकावा होटलमा कार्यरत कर्मचारी योग्य र अनुभवी भएको अर्यालले बताए । ‘विदेशमा हिल्टनदेखि सेराटनसम्ममा काम गरेका योग्य र अनुभवी कर्मचारी आइकावामा छन्’, उनले बताए । आइकावाले काठमाडौं, पोखरा र अर्काे एउटा गोप्य गन्तव्यमा शाखा बिस्तारको लागि अनुसन्धान गरिरहेको अर्यालले बताए । 
पूर्व मिस नेपाल शृंखला खतिवडालगायतको इन्जिनियरिङ र आर्किटेक्ट डिजाइन कम्पनी ‘गाथा’ द्वारा चारतारे होटल आइकावामा आकर्षक गार्डेन बनिरहेको छ । शृंखलाको टोली गाथा र होटल आइकावाबीचको सहकार्य उत्कृष्ट रहेको र तयार हुने गार्डेन अति राम्रो हुने अपेक्षा राखिएको प्रबन्ध निर्देशक अर्यालले बताए ।
सौराहा क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटन प्रबर्द्धनमा आफ्नो होटलले महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रबन्ध निर्देशक अर्यालले बताए ।





