मकवानपुर, १६ चैत ।
हाम्रो नेपाली पार्टी (हानेपा) मा विवाद देखिएकाे छ । बागमती प्रदेशसभा सदस्य शैलेन्द्रमान बज्राचार्यले ३ दलसँग सहमति गर्दै बागमती प्रदेश सरकारमा सहभागी भएपछि पार्टीकाे विवाद सतहमा आएकाे हाे ।
पार्टी अध्यक्ष अनन्तराज घिमिरेले शुक्रबार हेटौँडामा पत्रकार भेटघाट गर्दै पार्टी निर्णय विपरीत बज्राचार्य सरकारमा सहभागी भएको भन्दै कारबाहीको चेतावनी दिए । घिमिरेले बिहीबार पार्टीले राखेकाे छलफलमा सहभागी नभएकाे तथा सम्पर्क बाहिर रहेकाेले अपहरणमा परेकाे आशंका गरेकाे समाचार बाहिरिएकाे थियाे । शुक्रबारकाे पत्रकार सम्मेलनमा अध्यक्ष घिमिरेले बज्राचार्यकाे ‘राजनीतिक अपहरण’ गरेको आरोप समेत लगाए ।
घिमिरेले सरकारलाई दिएको समर्थन फिर्ता लिने र प्रतिपक्षमा बस्ने पार्टीको निर्णय विपरीत बज्राचार्य लागेको आरोप लगाए । उनले मन्त्रीमा नियुक्त हुनु अगाडि पार्टीसँग कुनै छलफल नगरेको र शुक्रबार बिहानसम्म पनि सम्पर्क हुन नसकेको जानकारी दिए । उनले हाम्रो नेपाली पार्टी विकृत राजनीतिमा नलाग्ने पनि बताए ।
बागमती प्रदेश सभामा हाम्रो नेपाली पार्टी संसदीय दलका नेता बज्राचार्य बुधबार सरकारमा सहभागी भएका थिए । उनलाई मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले संस्कृति, पर्यटन तथा सहकारी मन्त्री नियुक्त गरेका छन् । सपथ लिएपछि बज्राचार्यले पार्टीको सल्लाहमै मन्त्री नियुक्त भएको बताएका थिए । मन्त्री नियुक्त हुनु अघी दलकाे नेताकाे हैसियतमा बज्राचार्यले सत्ता गठबन्धन ३ दल सँग ५ बुँदे सहमति गरेका थिए ।
हाम्रो नेपाली पार्टीले प्रदेश प्रमुखकाे कार्यालयलाई पत्र पठाउँदै जम्कट्टेल नेतृत्व सरकारलाई दिएको समर्थन मंगलबार मात्रै फिर्ता लिएको जनाएकाे थियाे । हानेपाले बागमती प्रदेश सरकारमा मुख्यमन्त्री पाए मात्र सहभागी हुने अन्यथा प्रतिपक्षमै बस्ने बताउँदै आएकाे थियाे ।
हानेपाका बज्राचार्य सरकारमा सहभागी भएसँगै बागमती प्रदेशको सत्ता गठबन्धनलाई सरकार बनाउन बहुमत पुग्ने छ । २ सांसद रहेको हाम्रो नेपाली पार्टीबाट बज्राचार्यले समर्थन गर्दा बहुमत पुगेकाे छ । काँग्रेस गत फागुन २३ गते सरकारबाट बाहिरिएसँगै अल्पमतमा परेका मुख्यमन्त्री जम्कट्टेलले विश्वासकाे मत लिने समय १ हप्ता हुँदा वज्राचार्यसँग सहमति गरेर वर्तमान सरकारमा सामेल गराएका हुन् ।
कूल १ सय १० जना प्रदेश सभासदस्य रहेको बागमतीमा कांग्रेसका ३७, एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सदस्य छन्। वर्तमान सत्ता गठबन्धनमा एमालेका २७, माओवादीको २१ र एकीकृत समाजवादीको ७ गरी जम्मा ५५ सांसद रहेका थिए। प्रदेश सभामा बहुमत पुग्न ५६ सदस्यको समर्थन चाहिन्छ ।





