मकवानपुर, ११ चैत ।
मकवानपुर प्रहरीले लागूऔषध अफिमसहित २ जनालाई नियन्त्रणमा लिएको छ ।
शनिबार हेटौंडा १० को एक खाजा घरबाट थाहा नगरपालिका ८ का ५४ वर्षीय तेज बहादुर थिङ र ४३ वर्षीय शरण लामालाई २ किलो अफिमसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
हेटौंडा १० मा रहेको दिलखुस खाजाघरमा इलाका प्रहरी कार्यालय पशुपतिनगर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पर्साको संयुक्त टोलीले खाजा घर भित्र बसिरहेका थिङ र हेटौंडा २ डेरा गरी बस्ने लामालाई जाँच गर्ने क्रममा शरण लामाले बोकेको झोलाबाट अफिम २ किलो फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीको अनुसार उक्त परिमाणको अफिमसहित दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।





