भरतपुर, ११ चैत ।
फागु अर्थात होली सद्भावनाको पर्व हो । आज देशको पहाडी भेगमा उल्लासपूर्वक यो पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिनमा पर्ने यो पर्व तराईमा भने सोमबार मनाइँदैछ ।
आफन्त, साथीभाइ मिलेर रङ, पानी खेलेर खुसी साट्ने फागुपर्वको विशेषता हो । नेपाली र विदेशीसमेत फागु पर्वमा सहभागी भै टीका, अबिर लगाएर हार्दिकता साटासाट गरेको देख्न सकिन्छ । यो पर्व सबै समुदायले महत्त्वका साथ मनाउने गरेका छन् । 
फागु पूर्णिमामा एकापसमा रङ, अबिर दलेर रमाइलो मात्र गरिँदैन नाचगान पनि गरिन्छ । बुढापाका, युवा र बालबालिका पनि हौसिएर नाचगानमा भाग लिन्छन् । चितवनमा पनि यो पर्वको विविधखाले रौनक देखिएको छ ।
आइतबार चितवनका कविलेखकले टीका, अबिरसँगै बाल्यकालमा फागुपर्व मनाउँदाको समयलाई स्मरण गरेका छन् । नारायणगढस्थित सम्पूर्ण किताबमा जम्मा भएका स्रस्टालाई कवि विद्या भण्डारी चिरागले रातो टीका, अबिर लगाइदिएकी थिइन् । `कविताको रङ´ नाम दिइएको कार्यक्रममा कविलेखकले टीका, अबिरसँगै शब्दमार्फत रङको चर्चा गरेका थिए ।
कार्यक्रममा गोविन्दराज विनोदी, गोपी सापकोटा, भीमप्रसाद शर्मा, विद्या भण्डारी चिराग, मनोजविक्रम बिष्ट, उपेन्द्र त्रिपाठी, अर्जुन भण्डारी, परिवेश मुन्छे, गीता पौडेल, निर्दोष जीवन, सूर्यप्रकाश कँडेल, शिरिषा सापकोटा, आशीर्वाद सापकोटा, लेखराम सापकोटा, कमल अर्याल, अविरत सुमन, रामकृष्ण अनायास, भरत कुँवरलगायतले विभिन्न उमेर खण्डमा फागु मनाउँदाका रमाइला, नरमाइला क्षणलाई प्रस्तुत गरेका थिए । कार्यक्रममा कविता वाचन पनि गरिएको थियो ।





