भरतपुर, १० चैत ।
नेपाली काङ्ग्रेस चितवनको स्वास्थ्य विभागले सञ्चालन गरेको नि:शुल्क स्वास्थ्य शिविरबाट एक हजार ५ सय ८० जनाले सेवा लिएका छन् । चितवनको कालिका नगरपालिका वडा नम्बर ६ मा चैत ९ गतेबाट शुरु भएको नि:शुल्क स्वास्थ्य शिविरमा जिल्लाभरीबाट एक हजार ५ सय ८० जनाले स्वास्थ्य सेवा लिएको नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनालले जानकारी दिए ।
शिबिरमा २ सय ९८ जनाले भिडियो एक्सरे सेवा, २ सय ५३ जनाले ईसिजि सेवा, ९५ जनाले भिआईए सेवा लिएका छन् । त्यसैगरी ५ सय ७५ जनाले आँखा जाँच सेवा लिएका छन् । शिविरमा १ सय जनालाई चश्मा वितरण गरिएको थियोे भने ८ सय जनाको सुगर तथा प्रेसर जाँच गरिएको थियोे । शिविरमा ८ सय ७० जना महिला र ७ सय १० जना पुरुषले सेवा लिएका छन् । त्यस्तै शिविरमा १० लाख बराबरको नि:शुल्क औषधि पनि वितरण गरिएको छ ।
शिविरमा जनरल फिजिसियन, महिला तथा प्रसुती, आँखा जाँच, दन्तरोग, पाठेघरको मुखको परीक्षण, बालरोग, नसा, हाडजोर्नी, शल्यचिकित्सा, नाक, कान तथा घाटी, मुटु रोग सम्बन्धि र छाला तथा यौन रोग सम्बन्धि सेवाहरु उपलब्ध गराइएको थियोे ।
नेपाली काङ्ग्रेस चितवनले पार्टीका पूर्व सभापति गिरिजाप्रसाद कोइरालाको १४औँ स्मृति दिवसको अवसरमा समुदायमा काङ्ग्रेस अभियान अन्तर्गत बृहत् नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गरेको जनाएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर पार्टीले आमनागरिकलाई स्वास्थ्य सेवाको महसुस होस् भनेर नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गरेको सभापति खनालले बताए ।
यस अघि शुक्रबार नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पूर्व महामन्त्री डाक्टर शशांक कोइरालाले एक भब्य समारोहका बिच शिविरको उद्वघाटन गरेका थिए । कार्यक्रम सयोजक दिनेश अधिकारीको अध्यक्षतामा सम्पन्न शिविरमा सभापति खनालले धन्यवाद प्रकट गरेका थिए ।





