देवचुली, १० चैत ।
विश्व पानी दिवसका अवसरमा देवचुली नगरपालिकामा खानेपानी र सरसफाइ तथा स्वच्छता (वास) योजना निर्माणका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । राष्ट्रिय खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) कार्यक्रम कार्यान्वयन गर्न र दिगो विकासको लक्ष्य नम्बर ६ लाई पूरा गर्नका लागि शुक्रबार नगरपालिकाको सभाहलमा कार्यक्रम गरिएको हो ।
देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मुकुन्द शर्मा, नगर प्रवक्ता तिलप्रसाद काफ्ले, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, नगरका शाखा प्रमुखहरु, नगरमा रहेका खानेपानी संस्थाका अध्यक्ष, सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधि, स्वास्थ्य संस्थाका प्रमुख, नमुना गाउँ परियोजना (नापा वास) का कार्यक्रम संयोजक प्रवीण घिमिरे लगायतको उपस्थितिमा अन्तरक्रिया गरिएको हो ।
देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुकुन्द शर्मा र प्रशासकीय अधिकृत अविनाश पन्थीले देवचुलीमा खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) कार्यक्रमको बारेमा प्रस्तुतिकरण गरेका थिए । अन्तरक्रियामा खानेपानी महासंघ नवलपुरका अध्यक्ष खिमानन्द भुसाल, सकलादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक लक्ष्मी शिवाकोटीलगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा नगरको खानेपानी, सरसफाइ तथा स्वच्छता ऐन बनाउने, गणकहरु परिचालन गरी प्रारम्भिक डाटा संकलन गरी खानेपानी तथा ढल व्यवस्थापन विभागले तयार गरेको मोबाइल एप्समा तथ्यांक प्रविष्टी गर्ने छ्लफल गरिएको छ । त्यसैगरी नगर प्रमुख हरिप्रसाद न्यौपानेको अध्यक्षता नगरस्तरीय वास समन्वय समिति निर्माण गर्ने समेत छ्लफल गरिएको हो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख न्यौपानेले छ्लफलमा उठेको सवालहरुलाई सम्बोधन हुनेगरी योजना तयार गरिने बताए । नगरले खानेपानी, सरसफाइ तथा स्वच्छता ऐन निर्माण गरि कार्यान्वयन गर्ने उनले बताए ।
खानेपानी तथा ढल व्यवस्थापन विभाग र गण्डकी प्रदेश उर्जा, खानेपानी तथा सिँचाइ मन्त्रालयको साझेदारीमा कार्यक्रम कार्यान्वयनमा लगिने छ । तथ्याङ्क संकलन गरी एप्समा प्रविष्टी गरेपछी योजनाले पूर्णता पाउनेछ ।





