भीमसेन मावि आइएसओ सर्टिफाइड प्राप्त गर्ने नेपालकै पहिलो सामुदायिक विद्यालय

देवचुली, ३ चैत ।
देवचुली नगरपालिकामा रहेको भीमसेन आदर्श माध्यमिक विद्यालयले अन्तर्राष्ट्रिय मान्यता प्राप्त आइएसओ सर्टिफाइड लोगो पाएको छ । शुक्रबार विद्यालयमा एक कार्यक्रम गरि वी एडभान्सी सर्टिफिकेसन युकेमार्फत प्राप्त आइएसओ ९००१:२०१५ सर्टिफाइड लोगो हस्तान्तरण गरिएको हो । देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेले विद्यालयलाई लोगो हस्तान्तरण गर्नुभएको हो ।

विद्यालयको शैक्षिक व्यवस्थापन, आर्थिक पारदर्शिता, प्रशासकीय कार्य, शैक्षिक क्रियाकलाप सम्बन्धि गतिविधि, विद्यार्थीहरुको स्वास्थ्य, सुरक्षा तथा सरसफाइ, शिक्षण सिकाइ पद्धति लगायत शैक्षिक गुणस्तरका आधारमा मुल्यांकन गरि आइएसओ सर्टिफाइड प्राप्त गरेको हो । विद्यालयले ६ महिना अघिबाट आइएसओ सर्टिफाइडका लागि प्रक्रिया सुरु गरि तीन चरणमा सूचकहरुका क्रियाकलाहरुमा काम गरिएको विद्यालयका प्रधानाध्यापक अग्निधर भुसालले बताउनुभयो ।
अन्तर्राष्ट्रिय आइएसओ सर्टिफाइट प्राप्त गर्ने नेपालकै पहिलो सामुदायिक विद्यालय भएको उहाँले दाबी गर्नुभयो ।

कार्यक्रममा बोल्दै देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेले भीमसेनले अन्तर्राष्ट्रिय मान्यता पाउनु महत्त्वपूर्ण उपलब्धि भएको बताउनुभयो । ३ वर्षसम्म मान्यता प्राप्त हुने आइएसओको निरन्तरता दिनका लागि विद्यालयलाई चुनौती थपिएको बताउनुभयो । उहाँले विद्यालयलाई आइएसओ निरन्तरताका लागि नगरपालिकाबाट आवश्यक सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो । विद्यार्थीहरुको विदेश पलायन रोक्न तिनै तहको सरकार,शिक्षक र अभिभावक जिम्मेवार हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ नवलपुरका प्रमुख रुद्र शर्मा, पूर्व प्रधानाध्यापक रामप्रसाद शर्मा, निवर्तमान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सत्यनारायण भुसाल, देवचुली वडा नम्बर ९ का अध्यक्ष बलिराम सापकोटालगायतले विद्यालयलाई सफलताको शुभकामना दिँदै विज्ञान र प्रविधिको युगमा अन्य विद्यालयले त्यसतर्फ कार्यक्रमहरु संचालन गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो । विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष भुमिलाल लामिछानेले उत्कृष्ट विद्यार्थी उत्पादनका लागि भीमसेनले अधिकतम प्रयोगात्मक शैक्षिक क्रियाकलापमा विद्यार्थीहरुलाई सहभागि गराइरहेको र यसमा अभिभावकहरुको समेत साथ मिलिरहेको बताउनुभयो ।

कार्यक्रममा आइएसओ सर्टिफाइडका लागि विद्यालयलाई सहयोग गर्ने डिलाइट ग्रुप नेपालका प्रतिनिधि कपिल लामिछानेले आइएसओ सर्टिफाइडलाई निरन्तरता दिनका लागि विद्यालयले थप मेहनत गर्नुपर्ने बताउनुभयो । विद्यालयले तीन वर्षसम्म आइएसओ सर्टिफाइड मान्यता पाउने छ भने त्यसपछी पुनः नवीकरण गर्नुपर्नेछ । प्रत्येक वर्ष आइएसओ सर्टिफाइड प्रदान गर्ने संस्थाद्वारा विद्यालयले मापदण्ड कायम गरे नगरेको अनुगमन गर्नेछ ।

कार्यक्रममा देवचुली नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्षहरु, पूर्व प्रधानाध्यापकहरु, पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, सामाजिक व्यक्तित्वलगायत अभिभावकहरुको उपस्थिति रहेको थियो । नवलपुरमै उत्कृष्ट नतिजा ल्याउने भीमसेन आदर्श माध्यमिक विद्यालय नमुना विद्यालय समेत हो । बालविकास देखि कक्षा १२ सम्म संचालन भएको विद्यालयमा २२ सय भन्दा विद्यार्थीहरु अध्ययनरत छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट