गणतन्त्र दिवसमा माडीमा मौलिक संस्कृति उत्सव हुने

माडी, जेठ १३ ।
गणतन्त्र दिवसको अवसरमा माडीमा “गणतन्त्र दिवस विशेष माडी मौलिक संस्कृति उत्सव–२०८३” आयोजना हुने भएको छ । माडी प्रज्ञा प्रतिष्ठानको आयोजनामा हुने उक्त कार्यक्रम जेठ १५ गते दिउँसो ३ बजेदेखि बसन्तपुर बजारस्थित खुला चौरमा सञ्चालन गरिने भएको हो ।

माडी प्रज्ञा प्रतिष्ठान ऐन–२०८१ बमोजिम स्थापना भएको माडी प्रज्ञा प्रतिष्ठानले गणतन्त्र दिवसलाई विशेष रूपमा मनाउने उद्देश्यले उत्सव आयोजना गर्न लागेको जनाएको छ ।

माडीको मौलिक कला, संस्कृति, भाषा, भेषभूषा, परम्परा तथा सामाजिक सद्भावलाई संरक्षण, प्रवर्द्धन र उजागर गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो ।

उत्सवमा विभिन्न जातजाति तथा समुदायको पहिचान झल्कने झाँकी, सांस्कृतिक प्रस्तुति तथा सामुदायिक सहभागिता रहनेछ । थारु समुदायका आठ प्रकारका सांस्कृतिक प्रस्तुति, मगर, तामाङ, नेवार, दुरा, गुरुङ, चेपाङ, राई र दराईलगायत १२ जनजातिका प्रस्तुति रहने जनाइएको छ । त्यस्तै दलित समुदायको पञ्चेबाजा र सारङ्गी प्रस्तुति, ब्राह्मण–क्षेत्री समुदायको स्वस्तिवाचन तथा भजनका साथै स्थानीय कलाकार र विद्यालयका लोकदोहोरी गायन तथा नृत्यसमेत समावेश गरिनेछ ।

कार्यक्रमअघि मौलिक तथा आकर्षक झाँकीसहित बसन्तपुर बजार परिक्रमा गरिनेछ । साथै विभिन्न जातजातिका मौलिक परिकारसहित ‘मौलिक खाना पर्व’को पनि व्यवस्था गरिएको छ । यसमा माडीका प्रसिद्ध माछा तथा दूधबाट बनेका परिकारको स्वाद लिन सकिने आयोजकले जनाएको छ ।

कार्यक्रमलाई सभ्य, भव्य तथा जनसहभागितामूलक बनाउन माडी नगरपालिका क्षेत्रभित्रका वडा कार्यालय, सरकारी तथा गैरसरकारी निकाय, सुरक्षा निकाय, शैक्षिक तथा स्वास्थ्य संस्था, सामाजिक तथा धार्मिक संघसंस्था, व्यवसायिक प्रतिष्ठान, कलाकार तथा सम्पूर्ण माडीवासीलाई मौलिक पोशाक र झाँकीसहित सहभागी हुन आग्रह गरिएको छ ।

माडी प्रज्ञा प्रतिष्ठानका अध्यक्ष नारायणप्रसाद सापकोटा तथा माडी नगरपालिकाकी नगर प्रमुख तारा कुमारी काजी महतोले उत्सवले गणतन्त्रको भावना, सामाजिक एकता, सांस्कृतिक विविधता तथा स्थानीय पहिचानलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट