भरतपुर, २२ माघ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अघि बढाउन बागमती प्रदेश सरकारले चासो दिएको छ । रंगशाला निर्माणका लागि प्रदेश सरकारले बजेट उपलब्ध गराउने भएको छ । बागमती प्रदेशका आर्थिक मामिला मन्त्री बहादुरसिंह लामा र स्वास्थ्य मन्त्री उत्तम जोशीले रंगशालाको स्थलगत निरीक्षण गरका थिए । अवलोकनपछि अर्थमन्त्री लामाले बजेट विनियोजनको प्रतिवद्धता जनाएका छन् । प्रदेश सरकारले ७० प्रतिशत बजेट हाल्ने उनलेे बताए ।
अलपत्र परेको रंगशालाको निरीक्षणपछि उनले निर्माण प्रकृया पूरा गर्न प्रदेश सरकार बजेटका लागि सकारात्मक रहेको बताएका छन् । उनलेे भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाललाई रंगशालामा बजेट पार्ने विश्वास दिलाएका छन् । ‘देशकै गौरवको आयोजना प्रदेशमा छ । यसलाई पूरा गर्नु सबैको दायित्व हो’, लामाले भने- ‘रंगशाला निर्माणमा प्रदेश सरकारको चासो छ । हामी बजेट सुनिश्चितता गरेरै अघि बढ्छौँ, ढुक्क हुनुस् ।´
मन्त्री जोशीले रंगशाला निर्माणको लागि अर्थमन्त्रीलाई आग्रह गरेका थिए । गृह जिल्लामा भएको परियोजनाका लागि आफूले प्रदेश सरकारमा पहल गरेको बताए । ‘रंगशाला निर्माणमा चासो मात्रै होइन सक्रियता पनि उत्तिकै छ । मुख्यमन्त्री नै यसमा सकारात्मक हुनुहुन्छ´, मन्त्री जोशीले भने- ‘यसपटक बजेटबाटै सम्बोधन हुने निश्चित नै छ ।’
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले रंगशालाको भौतिक र आर्थिक अवस्थाबारे जानकारी गराएकी थिइन् । उनले बजेटको व्यवस्था भए अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणले गति लिने बताइन् । ‘समग्र मुलुकको गौरवको आयोजना बजेट कै कारण रोकिएको हो । यसलाई पूरा गर्न प्रदेश सरकारसँग हामीले ठूलो आशा गरेका छौं’, दाहालले भनिन्- ‘मन्त्रीज्यूबाट सकारात्मक आश्वासन पाएका छौँ । आशा छ रंगशालामा प्रदेश सरकारले राम्रो निर्णय गर्नेछ ।’ उपप्रमुख चित्रसेन अधिकारीले रंगशाला निर्माणमा पाएको आश्वासनले आशा जगाएको बताए ।
मन्त्री लामासँगै नेपाली काँग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ, बागमती प्रदेश सभा सदस्य गीता गुरुङ, माया श्रेष्ठ, भरतपुर महानगरपालिका- १५ का वडा अध्यक्ष श्रीकृष्ण देवकोटा पनि रंगशाला पुगेका थिए ।





