मकवानपुर, २१ माघ ।
मकवानपुरको हेटौँडामा जारी शहीद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको छैटौं संस्करणको क्वार्टरफाइनलमा बागमती युथ क्लब सर्लाहीले मकवानपुर–११ लाई ४–२ गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ ।
हेटौंडा ६ स्थित गौरीटार रंगशालामा भएको खेलमा बागमतीका लागि सिर्जन गौतम, आयुष रानामगर, निर्मल बल र अनिल मगरले गोल गरे । मकवानपुरका लागि ज्ञान विष्ट र स्टेफन समीरले गोल गरे ।
निर्धारित समय खेल २–२ को बराबरी टुंगिएपछि टाइब्रेकरमा धकेलिएकाे थियाे । बागमती गोलरक्षक रोनक चौलागाईंले उत्कृष्ट बचाउ गर्दै म्यान अफ द म्याच भए । उनले नगद १० हजार प्राप्त गरे ।
प्रतियोगिता अन्तर्गत सोमबार त्रिभुवन आर्मी क्लब र राजारानी क्लब धनकुटाबीच तेस्राे क्वार्टरफाइनल खेल हुनेछ । आगामी माघ २७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। उपविजेताले दश लाख रुपैयाँ तथा सर्वोत्कृष्ट खेलाडीले बुलेट बाइक प्राप्त गर्नेछन् । यस्तै विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही २५/२५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् ।
मकवानपुर जिल्ला फुटबल संघकाे आयोजनामा भएकाे प्रतियाेगितामा बागमती प्रदेश खेलकुद विकास परिषद्, सामाजिक विकास मन्त्रालय, हेटौँडा उपमहानगरपालिकालगायतका स्थानीय तहको सहयोग रहेकाे छ ।
१ विदेशी क्लब सहित १२ टोलीको सहभागिता रहेकाे प्रतियाेगितामा यसअघिको विजेता मनाङ मर्स्याङ्दी क्लब सहभागिता जनाएकाे छैन । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा स्थानीय तह र अन्य सरोकारवालाको सहयोगमा यो प्रतियोगिता आयोजना गरिएको हो ।





