भरतपुर, १६ माघ
लायन्स क्लब अफ नारायणगढ नारायणीले रजत महोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम आयोजना गर्ने भएको छ । क्लबले मंगलबार नारायणगढमा पत्रकार सम्मेलनको आयोजना गरी सप्ताहव्यापी कार्यक्रमबारे जानकारी गराएको हो ।
अध्यक्ष अञ्जु पियाका अनुसार संस्थाको भवनमा माघ १८ गते बिहान मधुमेह परीक्षण कार्यक्रम र साँझ दीप प्रज्ज्वलन कार्यक्रम हुनेछ भने १९ गते पाठेघरको मुखको क्यान्सर परीक्षण शिविर हुनेछ । २० गते नारायणी कला मन्दिर नारायणगढमा लायन्स क्लब्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ आर नेपाल अन्तर्गतका महिला सदस्यबिच हाजिरीजवाफ प्रतियोगिता हुने तय भएको छ ।
माघ २१ गते बिहान मानव सेवा आश्रममा भोजन सेवा कार्यक्रम र दिउँसो बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत क्यान्सरका बालरोगी ३० जनालाई न्यानो कपडा वितरण गर्ने कार्यक्रम रहेको क्लबकी संस्थापक अध्यक्ष सुधा जोशीले जानकारी दिइन् । २२ गते बिहान कविलास हेल्थ पोष्ट जुगेडीमा निःशुल्क आँखा शिविर एवं २३ गते देवघाटधाममा सरसफाई कार्यक्रम राखिएको क्लबकी पूर्वअध्यक्ष रजनी मास्केले जानकारी दिइन् ।
साताव्यापी कार्यक्रम अन्तर्गत २४ गते मिलीजुली आधारभूत विद्यालय देवचुलीमा प्राकृतिक फिल्टर ट्यांकी निर्माण कार्यको समुद्घाटन हुनेछ । रजत महोत्सव मूल समारोह एवं क्लबको २५औं स्थापना दिवस माघ २८ गते बिहान पर्व ब्याङ्क्वेट कमलनगरमा हुने पूर्वअध्यक्ष मास्केले बताइन् ।
२५ वर्षअघि २२ जना महिलाहरुलाई संगठित गरी लायन्स क्लब अफ नारायणगढले स्थापना गराएको लायन्स क्लब अफ नारायणगढ नारायणीमा हाल ४६ जना सक्रिय सदस्य छन् । गृहिणीहरुबाट पनि समाज रुपान्तरण गर्न सकिन्छ, सेवा कार्यमा महिलाहरु समेत सक्रिय रहन सक्छन् भन्ने मान्यता लिएर क्लब स्थापना गरिएको संस्थापक अध्यक्ष सुधा जोशीले बताइन् । रजत महोत्सवका अवसरमा रजत स्मारिका प्रकाशन गर्न लागिएको उनले जानकारी दिइन् ।





