मलाई सहिद नबनाउ (कविता)

उ त्यो डाँडामा घाम नउदाउनु अघि म सूर्यक्रान्तिको खेमामा थेँ
सूर्यक्रान्तिको उदयपछि देशका कारखाना जसरी बन्द भएँ ।

आमाले राखिदिएको नामको सट्टामा
देशले परदेशीको सर्वनाम दिएपछि मैले आफूलाई बिर्सिएको हुँ ।

उल्कापिन्डको गतिमा दौडिरहेका मेरा नसानाडीको रगतलाई उस्सै नबगाउ दुर्गन्धित बागमती र बिष्णुमतिका खन्डहरमा ।

जाजरकोटको हैजा जसरी नफैलाउनुस् मेरा दिवास्वप्नका गाथाहरु ।

भोकै मरोस् बरु भिखारी
दिउँसोको लन्चब्रेक तिमीलाई
त्यसै मरोस् बरु गरिब
सिमल र सुनको खाट हरेक तिमीलाई ।

कालापानी, लिपुलेक र लिम्पियाधुराको साँधमा अर्कैले काँध हाले पनि नबोक्नु तिमीले मलाई
मलाई ढल्न दिनु ।
मलाई छोडिदिनु
मलाई गल्न दिनु नचलाउनु
मलाई बिथोल्न नआउ
मलाई चिच्याएर मर्न देउ
मलाई सहिद नबनाउ ।

न गाउनु मेरो कविता
न भन्नू मलाई सहिद, जल्दै गरेको चितामा
न गुनगाउनु मेरा लागि गीत
न झुन्ड्याउनु मेरो तस्बिर भित्तामा ।

नबार्नु मेरा लागि नुन
नखोल्नु मेरा लागि कपडा
न मान्नु मेरो केही गुन
न राख्नु वीरगाथाका आँकडा ।

त्यस्सै चितामा जलाई आउनु ।
एक्कै सपनामा बिर्सिजानु ।
त्यस्सै माटोमा दबाई दिनु ।
एकसरो स्वास मै हराइ दिनु ।

राष्ट्रपतिको आतिथ्यमा लोकतन्त्र र गणतन्त्र दिवस प्रतियोगिताको आयोजना भएको छ ।
समावेशीको भागबन्डामा सहिद भर्तिकेन्द्र टेन्डरको आवेदन परेको छ ।
नाम : सहिद
वतन : नेपाल
पेशा : नेताको झोला बोक्ने ।

(कवि बोगटी लम्किचुहा नगरपालिका कैलालीमा जनस्वास्थ्य निरीक्षक हुनुहुन्छ ।)

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट