भरतपुर, ११ मङ्सिर ।
अनेरास्ववियु वीरेन्द्र बहुमुखी क्याम्पस कमिटीले बुधबार चितवन जिल्लास्तरीय अन्तर कलेज वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगिताको शीर्षक “बढ्दो वैदेशिक पलायन रोक्न विश्वविद्यालयको भूमिका” रहेको थियो ।
उक्त कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेका चितवन जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने थिए । उनले आजको समयमा मिल्ने गरी नेपालका विश्वविद्यालयहरू फेरिनु पर्ने कुरामा जोड दिए ।
कार्यक्रमका विशिष्ट अतिथि वीरेन्द्र बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्राध्यापक दयाराम पौडेलले बढ्दो वैदेशिक पलायन रोक्न विश्वविद्यालयले भूमिका खेल्न सक्ने कुरा बताए ।
उक्त कार्यक्रममा चितवन जिल्लाभित्रका त्रिभुवन विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय तथा उच्च माध्यमिक तहका गरी दशवटा शैक्षिक संस्थाका सत्र जना प्रतियोगीहरूले सहभागिता जनाएका थिए ।
सहभागीहरूमध्ये अर्किड कलेजका प्रतीक अधिकारी प्रथम भएका थिए । त्यस्तै सनराइज स्कुलकी मुना गैरे द्वितीय र अरोमा कलेजका रसिक पौडेल तृतीय भएका थिए ।
प्रतियोगिताको निर्णायकमा वीरेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापकहरू रमेश प्रभात, प्रभा मरहट्टा र गोपाल काफ्ले रहेका थिए ।
कार्यक्रमको सभापतित्व अनेरास्ववियु वीरेन्द्र बहुमुखी क्याम्पस एकाइ कमिटीका अध्यक्ष सुदीप पौडेलले गरेका थिए । क्याम्पस कमिटीकाे अधिवेशनको पूर्वसन्ध्यमा याे कार्यक्रम गरिएकाे कुरा उनले बताए ।




